नेपाली कांग्रेसले १५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवशेनसम्बन्धी नयाँ कार्यतालिका पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले केन्द्रीय केन्द्रीय समितिको म्याद विधान अनुसार २०८३ जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । 

पारित कार्यतालिकामा चैत २१ गते गाउँ÷नगर वडा अधिवेशन, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख २ गते र  दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख ५ गते, प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते गर्ने उल्लेख छ । देउवा पक्षले विशेष महाधिवेशनको औचित्य मंसिर १५ बाटै समाप्त भइसकेको जिकिर गरेको छ । 

यसअघि केन्द्रीय समितिले पुसमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर तोकिएको समयमा महाधिवेशन गर्ने कार्यतालिका प्रभावित भएपछि कार्यसम्पादन समिति बैठकले बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको हो ।

उता महामन्त्री गगनकुमार थापाले जसरीपनि पुस मसान्तभित्र विशेष महाधिवेशन आयोजना गर्ने बताएका छन् । १५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म कांग्रेस कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राख्दै थापाले पार्टीको विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका हुन् ।

बैठकपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले केन्द्रीय समितिले पुसभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्दिन भन्न नपाउने जिकिर गरे  । बैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राखेको भन्दै थापाले विधानको अधिकार अनुसार विशेष महाधिवेशन गर्न नेतृत्व तयार हुने विश्वास व्यक्त गरे ।

तर विशेष महाधिवेशन गर्न नेतृत्वले नचाहे विधानको धारा १७(२) बमोजिम विशेष अधिकारको प्रयोग गरेर पुस मसान्तभित्र विशेष महाधिवेशनको आयोजना गर्ने स्पष्ट पारे ।

ऐतिहासिक संकटमा कांग्रेस
नेपाली कांग्रेस आज इतिहासकै सबैभन्दा गम्भीर मोडमा उभिएको छ । यो संकट कुनै आकस्मिक घटना होइन, न त केवल महाधिवेशनको मिति विवाद मात्र हो । यो संकट दशकौँदेखि थन्क्याइँदै आएको नेतृत्व संस्कृतिको विस्फोट हो, जहाँ विधान, संस्था र पार्टीभन्दा व्यक्ति ठूलो बन्दै गए ।

पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्माबीच देखिएको टकराव अब मतभेदको सीमाभन्दा बाहिर निस्किसकेको छ । एउटै पार्टीभित्र दुई फरक महाधिवेशन, दुई फरक मिति र दुई फरक वैधानिक दाबी हुनु भनेको कांग्रेस व्यवहारतः दुई धारमा विभाजित भइसकेको संकेत हो । औपचारिक विभाजनको घोषणा बाँकी भए पनि राजनीतिक अर्थमा कांग्रेस आज “एक” छैन ।

महाधिवेशनको विवाद त केवल सतह हो । यसको गहिराइमा हेर्दा, सत्ता नियन्त्रण र नेतृत्व हस्तान्तरणको असफलता स्पष्ट देखिन्छ । विधानले तोकेको समयमा नियमित महाधिवेशन नगर्नु, केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगर्नु र ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनसमेत टार्नुले सभापति देउवाको नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। यसले पार्टी विधानभन्दा व्यक्ति शक्तिशाली हुने खतरनाक परम्परालाई थप मजबुत बनाएको छ ।

त्यसको प्रतिक्रिया स्वरूप महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको बाटोमा उत्रिएका छन्। विधानको सहारा लिएर प्रतिनिधिलाई प्रत्यक्ष निम्ता दिनु, हल बुक गर्नु र मिति घोषणा गर्नु सामान्य राजनीतिक दबाब होइन, यो संस्थागत विद्रोह हो। तर यो विद्रोह पार्टी फुटाउने नियतले भन्दा पनि देउवा–केन्द्रित सत्ता संरचना तोड्ने अन्तिम प्रयासका रूपमा बुझ्नुपर्ने देखिन्छ। प्रश्न यही हो—यो प्रयासले पार्टी जोगाउँछ कि फुटाउँछ ?

कांग्रेसको इतिहास हेर्दा यस्ता मोड नयाँ होइनन्। तर फरक यत्ति हो—अहिले संकटको केन्द्रमा केवल नेतृत्वको झगडा छैन, पार्टीको भविष्य नै प्रश्नमा परेको छ। पुरानो नेतृत्व सत्ता छोड्न तयार छैन, नयाँ नेतृत्व धैर्य गर्न तयार छैन। पुस्तान्तरणलाई व्यवस्थित गर्न नसक्दा कांग्रेस आफैंसँग लडिरहेको छ ।

यदि सभापति देउवाले अझै पनि विशेष महाधिवेशनलाई अस्वीकार गर्दै गए, विधानलाई बेवास्ता गर्ने रणनीति दोहो¥याए भने कांग्रेस विभाजनको औपचारिक घोषणासम्म पुग्न धेरै समय लाग्दैन । त्यस्तै, यदि महामन्त्रीहरूले पनि सम्झौताका सबै ढोका बन्द गर्दै एकपक्षीय बाटो रोजे भने पार्टी फुटको दोष उनीहरूको काँधमा पनि आउनेछ ।

आज कांग्रेसलाई जोगाउने एउटै उपाय छ—विधानको सम्मान, समयबद्ध महाधिवेशन र नेतृत्वमा परिपक्वता । सभापतिले “सत्ता” होइन “संस्थापक संरक्षक” को भूमिका रोज्नुपर्छ भने महामन्त्रीहरूले विद्रोहलाई शक्ति प्रदर्शन होइन, सुधारको साधन बनाउनुपर्छ ।

नत्र, इतिहासले नेपाली कांग्रेसलाई यस्तो पार्टीका रूपमा स्मरण गर्नेछ, जसले लोकतन्त्र त जोगायो, तर आफ्नै पार्टी जोगाउन सकेन । आजको प्रश्न महाधिवेशन कहिले गर्ने भन्ने होइन, प्रश्न कांग्रेस भोलि रहने कि नहुने भन्ने हो ।