
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशले भारतमा आयोजना हुने टी–२० विश्वकप खेल्न अस्वीकार गरेमा उसको स्थानमा अर्को देशलाई सहभागी गराउने निर्णय गरेको छ।
बुधबार बसेको आईसीसी बैठकले उक्त निर्णय गरेको हो। बैठकमा भएको मतदानमा बहुमत बोर्ड सदस्यले बंगलादेश नआए अर्को टोलीलाई मौका दिनुपर्ने पक्षमा मत जाहेर गरेपछि आईसीसी यस निष्कर्षमा पुगेको हो।
आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई आफ्नो अडान पुनर्विचार गर्न थप एक दिनको समय दिएको छ। तोकिएको समयभित्र बंगलादेश भारतमा खेल्न सहमत नभए आईसीसीले वैकल्पिक टोलीलाई विश्वकपमा सहभागी गराउने जनाएको छ।
ईएसपीएन क्रिकइन्फोका अनुसार बंगलादेशको स्थानमा स्कटल्याण्डले अवसर पाउने सम्भावना बलियो छ। स्कटल्याण्ड युरोपेली छनोटमा नेदरल्याण्ड्स, इटाली र जर्सीपछि परेको कारण सिधै २०२६ को टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो।
भारत र बंगलादेशबीचको विवाद कोलकाता नाइट राइडर्स (केकेआर)ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ टोलीबाट हटाएपछि चुलिएको हो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को निर्देशनमा यो निर्णय गरिएको बताइए पनि स्पष्ट कारण सार्वजनिक गरिएको छैन। पछिल्ला दिनहरूमा दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको पृष्ठभूमिमा यो घटनाक्रम आएको हो।
मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशभित्र आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको थियो। साथै बीसीबीले आईसीसीलाई पत्र लेख्दै टी–२० विश्वकपका खेलहरू भारतमा नखेल्ने अडान लिँदै आएको छ।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। तालिकाअनुसार बंगलादेशका समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तय छ।





Facebook Comments