काठमाडौँ, ८ माघ — नेपाली चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले यस फिल्मलाई ‘The World’s Happiest Man’ अङ्ग्रेजी शीर्षकमा हालका लागि नर्थ अमेरिका क्षेत्रमा आधिकारिक रूपमा रिलिज गरेको हो।

अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार चलचित्रलाई क्रमशः विश्वका अन्य क्षेत्र र प्लेटफर्ममार्फत पनि उपलब्ध गराउने तयारी भइरहेको छ।

गत वैशाखमा नेपालमा प्रदर्शन भएको ‘भूठान’मा भुटानबाट अमेरिका पुगेका भूटानी शरणार्थीको जीवनकथा समेटिएको छ। फिल्ममा वृद्धावस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास, पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस तथा भौतिक सुख भए पनि धर्म, संस्कार र संस्कृतिसँग मेल नखाँदा उत्पन्न हुने मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरिएको छ।

चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य रहेका छन्। साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीले पनि अभिनय गरेका छन्।

विनोद पौडेलको निर्देशनमा बनेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन्।