काठमाडौं । नेपाल आयल निगमले  एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आधा ग्यास भरिएको सिलिन्डर आधा मूल्यमा बिक्री गर्ने निर्णय गरेको छ।

निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको माग उच्च देखिएको छ। साथै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परिरहेको पनि निगमले जनाएको छ।

नेपालमा ग्यास आपूर्ति गर्ने प्रमुख मुलुक भारतमै पनि सर्वसाधारण उपभोक्ताले एलपी ग्यास प्राप्त गर्न समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ। यसले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना हुने जोखिम बढेको निगमले उल्लेख गरेको छ।

यस्तो अवस्थालाई ध्यानमा राख्दै एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा आम उपभोक्ताले मागअनुसार ग्यास पाउन सक्ने अवस्था सहज बनाउन निगमले नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

निगमका अनुसार मिति २०८२ मंसिर २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरिएको सिलिन्डर प्रति सिलिन्डर ७५५ रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था गरिएको छ।

निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गर्दै बजारमा अनावश्यक भण्डारण नगर्न समेत अनुरोध गरेको छ। यस कदमले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास निगमले व्यक्त गरेको छ।