काठमाडौं ।डोनाल्ड ट्रम्पसी जिनपिङबीच चीन भ्रमणका क्रममा द्विपक्षीय वार्ता जारी रहेको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र चीन ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् ।

भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध सकारात्मक रहेको उल्लेख गर्दै दुई देशबीच देखिने समस्याहरू संवाद र सहकार्यबाट समाधान हुँदै आएको बताएका थिए । उनले फोनमार्फत समेत विभिन्न विषयमा सहमति र समझदारी हुने गरेको बताए ।

ट्रम्पले सी जिनपिङको प्रशंसा गर्दै उनलाई “महान नेता” को संज्ञा दिएका थिए । उनले भ्रमणमा आफूले “विश्वका उत्कृष्ट व्यापारिक नेताहरू”लाई पनि साथमा ल्याएको उल्लेख गर्दै चीनप्रति अमेरिकी व्यवसायिक समुदायको चासो र सम्मान रहेको बताए ।

ट्रम्पले अमेरिका–चीन सम्बन्ध अब पहिलेभन्दा अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका थिए ।

जवाफमा चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशले एकअर्काको सफलता र समृद्धिमा योगदान पुर्‍याउनुपर्ने धारणा राखे । उनले भने, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार हुनुपर्छ । हामीले नयाँ युगमा प्रमुख राष्ट्रहरूबीचको सम्बन्धका लागि सही मार्ग खोज्नुपर्छ ।”

सीले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु हुने ऐतिहासिक वर्ष बनाउन आफू ट्रम्पसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

उनले विश्व अहिले तीव्र परिवर्तन र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै अमेरिका र चीनबीचको सम्बन्धले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने बताए ।