काठमाडौं ।संयुक्त अरब इमिरेट्सको राजधानीअबुधाबीस्थित अज्बान क्षेत्रमा इरानबाट प्रहार गरिएका ड्रोन र मिसाइललाई हवाई सुरक्षा प्रणालीले अवरोध गर्दा खसेका अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन्। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका थिए।

अबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक जना गम्भीर घाइते भएका थिए। यद्यपि, पछिल्लो विवरणअनुसार गम्भीर अवस्थामा रहेका ती व्यक्ति पनि खतरामुक्त रहेका छन्।

नेपाली दूतावास, अबुधाबीले घाइते सातै जनासँग सम्पर्क गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको छ। दूतावासका कर्मचारीले केही घाइतेसँग प्रत्यक्ष भेटघाटसमेत गरेका छन् भने अन्यसँग टेलिफोनमार्फत समन्वय गरिएको जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्तालोकबहादुर पौडेल क्षेत्रीका अनुसार घाइतेमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचार अझै जारी छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको र आवश्यक सहयोगका लागि दूतावास सक्रिय रूपमा परिचालित रहेको मन्त्रालयले जनाएको छ।

घाइतेहरूको उपचारयूएई सरकारको समन्वयमा भइरहेको छ र उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

यूएई रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका १८ ब्यालिस्टिक मिसाइल, ४ क्रुज मिसाइल र ४७ ड्रोनलाई सफलतापूर्वक निस्तेज बनाइएको थियो। ती अवरोधका क्रममा खसेका भग्नावशेषका कारण अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुगेको हो।

२८ फेब्रुअरीदेखि जारी द्वन्द्वयता यूएईले कुल ४७५ ब्यालिस्टिक मिसाइल, २३ क्रुज मिसाइल र २,०८५ ड्रोन अवरोध गरिसकेको जनाएको छ। यस अवधिमा यूएईमा विभिन्न देशका नागरिकसहित २०३ जना घाइते भएका छन् भने २ जना सैनिकसहित ८ जनाको ज्यान गइसकेको छ, जसमा एक नेपाली नागरिक पनि रहेका छन्।

यस घटनापछि दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई स्थानीय निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न, आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र सतर्क रहन आग्रह गरेको छ।