
काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बिहान बताएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोन नजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो । भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।
स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, बोगोमा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । त्यहाँ तीनजनाको घर पहिरोले पुरिएको थियो ।
छिमेकी सान रेमिगियो नगरपालिकामा स्थानीय प्रहरीले थप पाँचजनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै, ताबुएलानमा एकजनाको मृत्यु भएको छ ।
स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, सान रेमिगियोको एउटा खेलकुद केन्द्रबाट चार शव निकालिएको थियो । तीमध्ये तीन कोस्टगार्ड सदस्य थिए, जो छत भत्कँदा स्थानीय बास्केटबल प्रतियोगितामा खेलिरहेका थिए ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले उक्त क्षेत्रमा ३७९ परकम्पले मापन गरिएको जनाएको छ ।







Facebook Comments