
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरेका छन् ।
अक्टोबर १७ मा ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पत्रकारहरूसँग कुराकानी गर्दा ट्रम्पलाई रुसका प्रमुख तेल खरिदकर्ताहरूको बारेमा सोधिएको थियो । जवाफमा उनले भारतले अब रुसबाट तेल नकिन्ने बताएका थिए ।
“तपाईंले भारत र हंगेरीको उल्लेख गर्नुभयो ? भारतले अब रुसबाट तेल किन्ने छैन र हंगेरी केही हदसम्म फसेको छ, किनभने उनीहरूसँग वर्षौंदेखि रहेको एउटा पाइपलाइन छ, तर उनीहरूको यहाँ समुद्र छैन,” ट्रम्पले भने, “मैले हंगेरीका एक ठूला नेतासँग कुरा गरेँ, उनीहरूले तेल पाउन निकै कठिन भइरहेको बताए ।”
ट्रम्पले भारतले रुसबाट तेल नकिन्ने बताए । “उनीहरूले पहिले नै सुरुआत गरिसकेका छन् । लगभग रोकिसकेका पनि छन्,” उनले भने, “उनीहरू पछि हटिरहेका छन् । उनीहरूले करिब ३८ प्रतिशत तेल किनेका थिए । तर, अब त्यसो गर्ने छैनन् ।”
यो टिप्पणी ट्रम्पले पत्रकारहरूलाई दिएको बयानको दुई दिनपछि आएको हो, जसमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई व्यक्तिगत रूपमा भारतले रुसबाट तेल आयात बन्द गर्ने आश्वासन दिएको बताएका थिए ।
अक्टोबर १५ मा यसलाई ‘ब्रेकिङ न्युज’ भन्दै ट्रम्पले भनेका थिए, “भारतले रुसबाट तेल किनिरहेको मलाई मन परेको थिएन । प्रधानमन्त्री मोदीले अब उहाँहरूले रुसबाट तेल नकिन्ने आज मलाई आश्वासन दिए । यो ठूलो कदम हो ।”
यी टिप्पणीहरूपछि भारतको विदेश मन्त्रालयले सावधानीपूर्वक शब्द प्रयोग गर्दै प्रतिक्रिया दियो, जसमा न त ट्रम्पको दाबीको पुष्टि गरियो, न त खण्डन नै । नयाँ दिल्लीले केवल आफ्नो ऊर्जा स्रोतहरूमा ‘विविधता ल्याइरहेको’ बतायो ।







Facebook Comments