
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम्दानीको स्रोत बढाउन अनौठो नियम ल्याएका छन् । ट्रम्पले अमेरिका जान चाहनेलाई लक्षित गरी नयाँ योजना तयार पारेका हुन् । उनले विदेशी धनी व्यक्तिहरूलाई लक्षित गर्दै कम्तीमा १० लाख डलर तिर्नेहरूमात्रलाई छिटो प्रक्रियाबाट अमेरिका प्रवेश भिसा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त कार्डले योग्य र परीक्षण प्रक्रिया पूरा गरेका व्यक्तिलाई ‘नागरिकताका लागि प्रत्यक्ष मार्ग’ उपलब्ध गराउने दाबी गरे । ‘यो अत्यन्तै रोमाञ्चक छ ! अब हाम्रा उत्कृष्ट अमेरिकी कम्पनीहरूले आफ्नो मूल्यवान प्रतिभा जोगाउन सक्नेछन्,’ ट्रम्पले लेखेका छन् ।
कार्यक्रमका अनुसार गोल्ड कार्डले ‘रेकर्ड समय’भित्र अमेरिकामा बसोबासको अनुमति दिनेछ । आवेदनका लागि १० लाख डलरको शुल्क तिर्नुपर्छ, जुन रकम स्वयम् अमेरिका लाभान्वित हुने प्रमाणको रूपमा लिइनेछ । विदेशी कामदारलाई प्रायोजित गर्ने कम्पनीहरूले भने २० लाख डलर तिर्नुपर्नेछ । साथै, ५० लाख डलर तिरेर ‘प्लाटिनम’ कार्डसमेत प्राप्त गर्न सकिनेछ, जसले विशेष कर सुविधा दिने बताइएको छ ।
१० लाखको नयाँ योजनासँगै वासिङ्टनले अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने, कार्य भिसा शुल्क बढाउनेलगायतका कठोर आप्रवासन नीतिहरू थप कडाइका साथ कार्यान्वयन गरिरहेको छ ।
ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रणमा ठूलो संसाधन प्रयोग गर्दै हजारौँ आप्रवासीहरूलाई देशनिकाला गरिरहेको छ । १९ राष्ट्र (मुख्यतः अफ्रिका र मध्यपूर्वका)का नागरिकका लागि लागू गरिएको यात्रा प्रतिबन्धअन्तर्गत आप्रवासन आवेदन पनि रोकिएको छ ।
गत सेप्टेम्बरमा ट्रम्पले दक्ष विदेशी कामदारका लागि प्रयोग हुने एच– १ बी भिसा आवेदनमा १ लाख डलर शुल्क लगाउने निर्णयमा हस्ताक्षर गरेका थिए । यस निर्णयले अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थी र प्रविधि कम्पनीहरूमा त्रास फैलिएको थियो । पछि ह्वाइट हाउसले स्पष्ट पार्दै उक्त शुल्क केवल विदेशबाट नयाँ आवेदन दिनेहरूलाई मात्र लागु हुने बताएको थियो । बीबीसीको सहयोगमा






Facebook Comments