काठमाडौं । शिक्षामन्त्री महावीर पुनले नेपालभरका विद्यालयहरूमा देखिएको मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतिकरण अन्त्य गर्न स्थानीय अभिभावकहरूलाई एकजुट भएर सशक्त आन्दोलन गर्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अपिलमा शिक्षामन्त्री पुनले चेतावनी, आग्रह र सुझाव मात्रै दिँदैमा शिक्षा क्षेत्रको सुधार सम्भव नहुने उल्लेख गरेका छन्। उनले विद्यालय सुधारका लागि पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको भन्दै आफ्ना छोराछोरीको भविष्यका लागि अभिभावकहरू जागरुक हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

शिक्षामन्त्री पुनले शिक्षा मन्त्रालयले अब काठमाडौं केन्द्रित निर्देशन मात्र दिएर बस्न नहुने स्पष्ट पार्दै स्थानीय तह र अभिभावकहरूको सक्रिय सहभागितामार्फत मात्रै विद्यालयमा सुधार सम्भव हुने धारणा राखेका छन्।

उनले स्थानीय अभिभावकहरूलाई आफ्नो अधिकार प्रयोग गर्दै विद्यालय व्यवस्थापनमा निगरानी र दबाब दिन आग्रह गरेका छन्।