काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ । आयोगले बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर निर्वाचनसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको हो । राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । साथै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए । 

राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको आयोगले त्यो प्रतिवेदनको कपी नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई पनि पठाएको छ । निर्वाचनको नतिजा राजपत्रमा शुक्रबार प्रकाशित गर्ने निश्चित भइसकेको आयोगले जनाएको छ । यो सँगै राजनीतिक दलहरूले नयाँ सरकार गठनका लागि प्रयास गर्ने र संसद् सचिवालयले शपथलगायतका काम गर्ने बाटो खुलेको छ । सङ्घीय संसद् सचिवालयले चैत १२ गते २ बजे नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिसकेको जानकारी प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । 

संघीय संसद सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसंग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गराउने तय गरेको हो । दलहरुसंग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका बिषयमा छलफल भएको छ । शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसंग शपथ ग्रहण गर्नुपर्ने हुन्छ । राष्ट्रपतिसंग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए । 

फागुन २१ गते भएको निर्वाचनबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहज बहुमत (२ सिट कम दुई तिहाइ) ल्याएको छ । १८२ सिट जितेको रास्वपाले एकल सरकार बनाउने तयारी गर्नेछ । पार्टीले निर्वाचनका क्रममा नै बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मतदातासामु गएको थियो ।  संविधानको धारा ७६ को उपधारा (१) बमोजिम अब रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसकेकाले अब त्यो काम गर्नका लागि शपथ कुरिरहनु पर्दैन ।

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने बाटो खुलेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । 

उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् ’राजकाज आज साँझको छलफल’ । उनले राखेको तस्बिरमा सभापति रवि लामिछाने, उनी र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र साह देखिएका छन् । 

उक्त तस्बिरअनुसार उनीहरू नयाँ सरकार गठनको छलफलमा जुटिरहेको बुझ्न सकिन्छ ।