काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । 

शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनमार्फत सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिइएको हो ।

ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए । 

सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएकी इनिसा पढ्नका लागि वीरेन्द्रनगर बस्दै आएकी थिइन् ।

फागुन २३ शनिबार ट्युसन पढ्न गएकी ११ कक्षामा अध्ययनरत उनी बेपत्ता भएकी थिइन् । पछि उनको शव वीरेन्द्रनगर ४ सहिद पार्क नजिकको जंगलमा भेटिएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ वर्षभन्दा कम उमेरका चार जनालाई पक्राउ गरेको छ ।