नवलपरासी । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा वर्षाका कारण सडक चिप्लो भएपछि शुक्रबारदेखि सवारी सञ्चालनमा समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले दुवैतर्फ करिब १०० भन्दा बढी सवारी साधन जाममा फसेका छन् ।

हाल उक्त खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । सडक हिलो र चिप्लो हुँदा विशेषगरी ठूला सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ ।

यता, नारायणघाट–बुटवल सडक योजनाले पनि रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाएको छ । योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा ठूला सवारी नचलाउन निर्देशन दिएको छ ।

ठूला सवारीलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्कीबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ भने यात्रुवाहक र आकस्मिक सेवाका सवारीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइएको छ ।

सडक विस्तार र मर्मतको काम भइरहेको दाउन्ने क्षेत्रमा वर्षासँगै सडक चिल्लो हुँदा सवारी चिप्लिने र अड्किने समस्या बढेपछि यस्तो निर्णय गरिएको आयोजनाले जनाएको छ ।

यसैबीच, दाउन्ने खण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधनलाई सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो । तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा उक्त मार्ग पनि अवरुद्ध भएको छ ।