काठमाडौँस्थित राष्ट्रपति भवन शितल निवासमा  आयोजित मधेसी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवस कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले मधेसी समुदायको योगदान ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका हुन् ।

उनले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै ती आन्दोलनहरूले अभिव्यक्त गरेका स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना सबै नेपालीको साझा चाहना भएको बताए ।

‘यो चाहनालाई आत्मसात गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो,’ राष्ट्रपति पौडेलले भने, ‘हालै सम्पन्न निर्वाचनमार्फत जनताले दिएको राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न म सबै पक्षलाई आह्वान गर्दछु ।’

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस विविधताभित्र मधेसी समुदायको योगदान महत्वपूर्ण रहेको बताए ।

राष्ट्रपति पौडेलका अनुसार विगत सात वर्षमा मधेसी आयोगले मधेसी समुदायको पहिचान र अधिकारका लागि महत्वपूर्ण आधार तयार गरेको छ, जसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको छ ।

ऐतिहासिक रूपमा मधेसी समुदाय राजनीतिक, सामाजिक र आर्थिक अवसरबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै उनले ती असमानता अन्त्य गर्ने उद्देश्यले आयोग स्थापना गरिएको बताए ।

संविधानले आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने अधिकार दिएको उल्लेख गर्दै उनले आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा मधेसी समुदायको हकहित संरक्षण, प्रवर्द्धन र सशक्तीकरणका लागि महत्वपूर्ण सिफारिसहरू समावेश गरिएको बताए । ती सिफारिसहरूले समस्याहरूको पहिचान गरी समाधानका लागि स्पष्ट मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।