भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ । सडक बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने उद्धार कार्यमा चुनौती थपिएको छ ।

रुकुम पूर्वमा गएरातिदेखि भइरहेको लगातार हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भुमे गाउँपालिका–१ अन्तर्गत पर्ने लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द हुँदा दर्जनौँ सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट छुटेका रात्रि बसहरू समेत सोही क्षेत्रमा फसेका छन् । उक्त खण्डमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल रोकिएका छन् भने २५० भन्दा बढी यात्रु अलपत्र परेका छन् ।

निरन्तर वर्षा र हिमपात भइरहेकाले सडक खुलाउने काममा कठिनाइ भएको छ । साथै, सो क्षेत्रमा टेलिफोन सेवा समेत अवरुद्ध हुँदा उद्धार कार्यमा थप समस्या भएको जनाइएको छ ।

यद्यपि, अलपत्र यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।