काठमाडौँ । कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । शनिबार बिहान ईद मनाउने क्रममा महाराजगञ्ज नगरपालिका–२ को बरगदा र बहादुरगञ्ज क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो भने घटनामा तीन जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्र, बर्गदी पुलदेखि बहादुरगञ्ज चोकसम्म निषेधाज्ञा जारी गरेको छ, जुन अझै कायम रहेको छ ।

विवाद समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय छलफल जारी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । उनका अनुसार, सहमति नआउँदासम्म निषेधाज्ञा हटाइने छैन ।

प्रहरीका अनुसार, बरगदास्थित मस्जिदमा नमाज पढिरहेका बेला नजिकैको मन्दिरमा डिजे बजाइएपछि विवाद सुरु भएको हो । यतिबेला चैते दसैँ नजिकिँदै गर्दा हिन्दु समुदायले मन्दिरमा कार्यक्रम गर्ने परम्परा रहँदै आएको छ ।

झडपका क्रममा दुवै पक्षबाट मन्दिर र मस्जिदमा तोडफोडसमेत भएको छ । घटनापछि धार्मिक सहिष्णुता कायम राख्दै समस्या समाधानका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि र सरकारी निकाय सक्रिय रूपमा छलफलमा जुटेका छन् ।