
काठमाडौं । चैत ११ गतेदेखि लगातार तीन दिनसम्म नेपालमा उच्च पदस्थ अधिकारीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम सञ्चालन हुने भएको छ। यस क्रममा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख तथा सदस्यसम्मले शपथ लिने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत ११ गते बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथ कार्यक्रम बिहान सवा ११ बजे हुनेछ।
त्यसपछि केसीले चैत १२ गते बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाका बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्। उक्त शपथ कार्यक्रम सिंहदरबारस्थित पुतली बगैंचामा निर्माण गरिएको बहुउद्देश्यीय हलमा हुनेछ।
यसैगरी चैत १३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। यद्यपि प्रधानमन्त्रीको शपथको समय भने अझै निश्चित भइनसकेको राष्ट्रपति कार्यालयले जनाएको छ।






Facebook Comments