
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १३ गते वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य नेताहरूलाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ। यसका लागि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच मन्त्रीहरूको सूची तयार पार्न निरन्तर छलफल भइरहेको छ।
पार्टी स्रोतका अनुसार, मन्त्रीहरूको चयनका लागि आवश्यकताअनुसार अन्य शीर्ष नेताहरू र सम्भावित मन्त्रीहरूसमेत छलफलमा सहभागी भइरहेका छन्। सो छलफलमा मन्त्री बन्ने व्यक्तिहरूको पृष्ठभूमि, योग्यता र क्षमताका आधारमा नाम टुंग्याउने प्रयास भइरहेको छ।
अर्थमन्त्रीमा उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनालको नाम लगभग निश्चित जस्तै देखिएको छ। त्यस्तै सुनील लम्सालले पनि मन्त्रीको शपथ लिने पक्का भए पनि उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन। उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ भने गृह मन्त्रालयको जिम्मेवारी दिने विकल्पबारे पनि चर्चा चलिरहेको छ।
मन्त्रिपरिषद्मा कम्तीमा तीनदेखि चार महिला मन्त्री हुने तयारी छ। महिला सांसदमध्ये सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ। सोबितालाई सभामुखको जिम्मेवारी दिने विकल्पसमेत विचाराधीन रहेको बताइएको छ।
पार्टी नेताहरूका अनुसार मन्त्रालयको संख्या १५ देखि १८ सम्म राख्ने र अधिकतम १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको छ। साथै, आवश्यकताअनुसार एक व्यक्तिलाई एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी दिने विषयमा पनि छलफल भइरहेको छ। उपप्रधानमन्त्री राख्ने वा नराख्ने भन्ने विषयमा भने अझै निर्णय भएको छैन।
सभापति लामिछाने, वरिष्ठ नेता शाह र उपसभापति डीपी अर्याल तथा वाग्लाबीच ५ चैतमा रोयल सिंगे होटलमा भएको बैठकमा प्रारम्भिक छलफल गरिएको थियो। त्यसपछि निरन्तर रूपमा नेतृत्वबीच संवाद भइरहेको छ।
त्यसैगरी, पार्टीले सरकारका प्राथमिकता, सुशासन, मन्त्रालय सुधार र निर्वाचनअघि घोषणा गरिएका वाचापत्रका योजना कार्यान्वयनमा जोड दिने तयारी गरेको छ। साथै, विगत सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको पुनरावलोकन गर्ने विषयमा पनि छलफल भइरहेको रास्वपाले जनाएको छ।






Facebook Comments