
नेपाली कांग्रेसका सभापतिगगन थापाले पार्टीको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव अघि सारेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले उक्त मितिमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्।
थापाले क्रियाशील सदस्यता वितरण र अद्यावधिक प्रक्रियालाई व्यवस्थित गर्न चैत २१ देखि चैत मसान्तसम्म विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव पनि गरेका छन्। त्यसपछि वैशाख १ देखि वैशाख मसान्तसम्म देशभरका ६ हजार ७४३ वडाबाट सदस्यता वितरण र अद्यावधिक गर्ने योजना छ।
उनका अनुसार जेठ मसान्तसम्म सदस्यताको विवरण केन्द्रमा पठाइनेछ भने असार १५ भित्र केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसले गरेको छ।
थापाले पूर्व सभापतिशेरबहादुर देउवापक्षलाई पार्टीमा समेटेर अघि बढ्न आग्रह गरेका छन्। बैठकमा बोल्दै उनले आफू सभापतिको रूपमा पार्टीको ‘गाडी हाँकिरहेको’ उल्लेख गर्दै अब पार्टी अघि बढिसकेको र रोक्न नसकिने बताए। “यो गाडी अघि बढिसक्यो, अब रोकिन्न। सबैलाई समेटेर लैजान्छौँ, तर कोही आफैं छुट्न खोज्छ भने त्यो मेरो कुरा होइन,” उनले देउवा पक्षलाई संकेत गर्दै भने।
हाल देउवा पक्षले समानान्तर गतिविधि अघि बढाइरहेको पृष्ठभूमिमा थापाको यस्तो अभिव्यक्ति आएको हो। उनले विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि देखिएको स्वीकार गर्दै संवादमार्फत सबैलाई समेट्ने प्रयास गर्ने बताए।
थापाले उम्मेदवार चयन प्रक्रियामा कुनै पूर्वाग्रह नभएको दाबी गर्दै छोटो समयमा १६५ जना उम्मेदवार छनोट गर्दा केही असन्तुष्टि स्वाभाविक भएको बताए। उनले फागुन २१ को निर्वाचनमा केही नेताहरूले आधिकारिक उम्मेदवारलाई साथ नदिएको विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरे।
“रुख चिह्न लिएर उठेका उम्मेदवारलाई कतिपयले मत नै नहाल्ने वा मत नमाग्ने अवस्था देखियो, यसलाई मैले नोटिसमा राखेको छु,” उनले भने।
उनले एउटै क्षेत्रमा पटक–पटक उम्मेदवार बन्ने नेताहरूलाई टिकट नदिएको र नयाँ कार्यकर्तालाई अवसर दिन खोजिएको स्पष्ट पारे। साथै, पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमाथि अनुशासन समितिबाट आवश्यक कारबाही हुने संकेत पनि दिए।
थापाले सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर महाधिवेशनसम्म अघि बढ्न आग्रह गर्दै “यो गाडीमा कोही छुट्नु हुँदैन” भन्ने सन्देश दिएका छन्।






Facebook Comments