काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए । उनी ७८ वर्षका छन् ।
केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
आजदेखि लगातार तीन दिनसम्म नेपालमा उच्च पदस्थ अधिकारीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम सञ्चालन हुने छ । यस क्रममा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख तथा सदस्यसम्मले शपथ लिने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।
त्यसपछि केसीले चैत १२ गते बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभाका बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ । उक्त शपथ कार्यक्रम सिंहदरबारस्थित पुतली बगैंचामा निर्माण गरिएको बहुउद्देश्यीय हलमा हुनेछ ।
यसैगरी चैत १३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । यद्यपि प्रधानमन्त्रीको शपथको समय भने अझै निश्चित भइनसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।






Facebook Comments