काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको कारण एउटै खुलाएको छ ।  प्रहरीले जिल्ला सरकारी वकीलसँग समन्वयमा ओली र लेखकलाई पक्राउ पुर्जी थमाएको थियो । 

प्रहरीले दुबैजनालाई ‘ज्यानसम्बन्धी कसूर’ समेतको मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गरेको पक्राउ पुर्जीमा खुलाएको छ । 

ओली र लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले जरुरी पक्राउ पुर्जी जारी गर्दै शनिबार बिहान पक्राउ गरी हिरासतमा लिएको थियो । 

ओलीलाई थमाइएको पक्राउ पुर्जीको व्यहोरामा छ, ‘‘तपाईंलाई ज्यानसम्बन्धी कसूरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’’ 

तत्कालिन गृहमन्त्री लेखकको विषयमा पनि यही भाषा उल्लेख गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना जाँचबुझका लागि गठित आयोगको सिफारिस अनुरुप ओली र लेखक पक्राउ परेका थिए । 

उक्त प्रतिवेदन कार्यान्वनका लागि बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो निर्णय लिएको थियो । त्यसलगत्तै ओली र लेखक पक्राउ परेका हुन् । 

प्रतिवेदनमा तत्कालीन प्रधानन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, गृहसचिव गोकर्णमणी दुवाडी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतमाथि लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको ठहर गर्दै कारबाही सिफारिस गरिएको छ ।  
जिल्ला सरकारी वकीलको कार्यालय स्रोतका अनुसार ओली र लेखकलाई कार्यालय खुलेलगत्तै पहिले सरकारी वकील समक्ष उपस्थित गराएपछि जिल्ला अदालतमा हाजिर गराइने भएको छ । 

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले बानेश्वरस्थित संसद भवनको पर्खाल तोडफोड तथा आगजनी गरी अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू लगाउने र अरु बल प्रयोग गर्नुपरेको व्यहोरा आयोगसँगको बयानमा खुलाएका छन् । 

आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसूरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको छ । उक्त कानुनी दफामा ज्यानसम्वन्धी कसुरको कारबाही प्रक्रियाबारे उल्लेख छ ।  

यसैबीच ओली र लेखक दुवैजनालाई एकै ठाउँमा राखिने भएको छ । शनिबार (चैत १४) बिहान पक्राउ गरिएका उनीहरूलाई महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राख्न लागिएको हो ।