
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा माग गरेका छन् । उक्त मागमाथि आइतबार अदालतमा बहस भइरहेको छ ।
सरकारी पक्षले जरुरी पक्राउ पुर्जीको समर्थन र म्याद थपको निवेदन पेश गरेपछि ओली र लेखक पक्षका कानुन व्यवसायीहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन दर्ता भएका छन्, जसमा पक्राउको वैधानिकता कायम गर्दै थप अनुसन्धानका लागि १० दिनको म्याद माग गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले दुवै नेताविरुद्ध फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा शनिबार बिहान प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
ओलीलाई म्याद थपको प्रक्रियाका लागि भर्चुअल उपस्थिति गराइएको छ ।
जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । आन्दोलन दमनको विषयलाई लिएर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।
अदालतको आदेशपछि उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्ने वा रिहा गर्ने भन्ने निर्णय हुनेछ ।






Facebook Comments