काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधिश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको अनुमति दिएका हुन् । 

अदालतले आदेशमा भनेको छ, ‘ओली र लेखकलाई हिरासतमा राख्न अनुमति माग गरेको र व्यहोरा मनासिव देखिँदा हिरासतमा राखी लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनको लागि ५ ९पाँच० दिनको म्याद थपको अनुमती प्रदान गरिदिएको छ ।’

आरोपितहरूको बयान गर्नुपर्ने, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्नुपर्ने अनि कार्की आयोगको प्रतिवेदन अध्ययन विश्लेषण गर्नुपर्ने भन्दै प्रहरीले ती सबै कामका लागि आरोपितहरू ओली र लेखकलाई हिरासतमा राख्नुपर्ने माग गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले ओली र लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनलाई आधार मान्दै वर्तमान सरकारले उनीहरूलाई शनिबार पक्राउ गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएका उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको हो । स्वास्थ्य अवस्थाका कारण अस्पतालमा भर्ना भएका एमाले अध्यक्ष ओलीलाई भर्चुअल माध्यमबाट र पूर्व गृहमन्त्री लेखकलाई भौतिक रूपमै अदालतमा उपस्थित गराइएको थियो । 

 जिल्ला अदालत काठमाडौंले ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ । ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ,’ न्यायाधीश श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख छ ।

यसै  क्रममा नेपाली कांग्रेसका अर्का नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्कालाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालतले थुनामा राख्न अनुमति दिएकै दिन दुवै नेताका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ । ओली पत्नी राधिका शाक्यले दायर गरेको रिटमा जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरी पक्राउ गरिनु गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ । सुझावका आधारमा मात्र पक्राउ गर्दा नागरिकको स्वतन्त्रताको मौलिक हक हनन् हुने जिकिर रिटमा छ । 

सर्वोच्च अदालतले उक्त रिटमाथि सोमबारका लागि  पेसी तय गरेको छ । यता रमेश लेखकको पक्षबाट पनि गैरकानुनी पक्राउ भन्दै सर्वोच्चमा अर्को रिट दायर भएको छ । यद्यपि गृहमन्त्री रमेश लेखकले भने एक पछि अर्को फाइल खोल्दै शीर्ष नेताहरुलाई निशाना बनाइरहेका छन् । ओली र लेखक पक्राउको विरोधमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले आइतबार पनि राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । राजनीतिक प्रतिशोध बन्द गर’भन्दै माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो, जसमा केही प्रदर्शनकारी घाइते भएका छन् । 

प्रहरीका अनुसार झडपका क्रममा टाउकोमा चोट लागेका एक घाइतेको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । झडप र प्रदर्शनको क्रममा प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उच्च व्यक्तित्वहरूमाथि आयोगको प्रतिवेदनका आधारमा गरिएको यो कारबाहीले कानुनी र राजनीतिक क्षेत्र तरंगीत छ । सोमबार सर्वोच्च अदालतमा हुने बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइले यस प्रकरणलाई कुन दिशामा लैजाने भन्ने टुङ्गो लगाउनेछ । एकातिर कानुनी लडाइँ जारी रहँदा अर्कोतिर सडकमा भइरहेको प्रदर्शनले शान्ति सुरक्षाको अवस्थालाई भने चुनौतीपूर्ण बनाएको छ ।