काठमाडौं । पूर्वप्रधानमन्त्रीकेपी शर्मा ओलीविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । न्यायाधीशमेघराज पोखरेलको इजलासमा उक्त रिट सोमबारका लागि राखिएको हो ।

गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको रिटराधिका शाक्यले दर्ता गराएकी हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीविरुद्ध घटना जाँचबुझ आयोगले दमनमा जिम्मेवार ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले उनलाई शनिबार पक्राउ गरेको हो ।

यसैबीच, कांग्रेस नेता तथा पूर्वगृहमन्त्रीरमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट पनि सर्वोच्चमा दर्ता भएको छ । उक्त रिटको सुनुवाइ न्यायाधीशकुमार रेग्मीको इजलासमा सोमबारका लागि तय गरिएको छ ।

लेखकका तर्फबाटयशोदा लेखकले आइतबार निवेदन दर्ता गराएकी हुन् । जेनजी आन्दोलनका क्रममा भएको दमनमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले उनीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही आधारमा सरकारले उनलाई पनि शनिबार पक्राउ गरेको हो ।