काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेसँग सम्बन्धित राहदानी दुरुपयोग मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वयकुमार रेग्मीमेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

यो रिटयुवराज पौडेल(सफल) ले दुई वर्षअघि दायर गरेका थिए । उनले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय कानुनविपरीत भएको जिकिर गरेका छन् ।

यसअघि सर्वोच्च अदालतले यस मुद्दामा तीन पटकसम्म सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको अदालतले २०८० जेठ ९ गते पनि फाइल मगाउने आदेश गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले किन मुद्दा नचलाउने निर्णय गर्‍यो भन्ने कारण माग गरिएपछि उक्त निर्णय प्राप्त भएसँगै अब दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्तादिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध पौडेलले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले अन्तरिम आदेशमार्फत लामिछानेविरुद्ध तत्काल मुद्दा चलाउन माग गरे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

रिटमा लामिछानेले आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकका रूपमा विवरण पेश गरी राहदानी लिएको दाबी गरिएको छ, जुन राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कसुर भएको उनको जिकिर छ । साथै, महान्यायाधिवक्ताले आपराधिक मनसाय नरहेको भन्दै मुद्दा नचलाउने निर्णय गर्नु आफ्नो अधिकारक्षेत्रभन्दा बाहिरको कार्य भएको पनि दाबी गरिएको छ ।

पौडेलले लामिछानेले उक्त राहदानी कहिले र के प्रयोजनका लागि प्रयोग गरे भन्ने विवरण अध्यागमन विभागबाट झिक्न माग गरेका छन् । साथै, अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई नेपाली नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश जारी गर्नुपर्ने मागसमेत रिटमा गरिएको छ ।