काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते अपरान्ह २ बजे सिंहदरबारमा बस्नेगरि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै बैठकले संविधान संशोधन वहस पत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । 

सरकारले भदौ २३ र २४ गतेको प्रतिवेदनको कार्यान्वयन कानुनसम्मत भएको पनि स्पष्ट पारेको छ।  उनले आफूहरूले कार्की आयोगको प्रतिवेदनअनुसार कार्यान्वयन गरेको र राज्यका निकाय तथा अंगले गर्ने कामहरू कानुनसम्मत हुने भएकाले सरकारले यसमा हस्तक्षेप नगर्ने बताए । राज्यका निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर गरेको कार्यमा सरकारले हस्तक्षेप नगर्ने उनको भनाइ थियो । 

त्यस्तै शिक्षामन्त्री पोखरेलले एसइइको नजिता नआई कक्षा ११ का लागि पूर्व तयारी कोर्शहरुका लागि विद्यार्थीहरुलाई तानातान गर्ने प्रवृतिलाई अन्त्य गर्न खोजिएको उल्लेख गरे । विश्वविद्यालय वा सो तहभन्दा माथिका हकमा भने कानून अनुसार चलेका संस्थाहरुले पूर्व तयारी कक्षा लिन सक्ने मन्त्री पोखरेलको भनाइ छ ।