काठमाडौं। जेन–जी आन्दोलनसँग सम्बन्धित मुद्दामा पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीकेपी शर्मा ओलीर कांग्रेस नेता तथा पूर्वगृहमन्त्रीरमेश लेखकलाई प्रहरीले बुधबार बयानका लागि जिल्ला प्रहरी परिसरमा उपस्थित गराउने तयारी गरेको छ।

प्रहरीले पहिलोपटक हिरासतका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको थियो। तर उक्त समय अपुग हुने देखिएकाले पुनः म्याद थपको प्रक्रिया अघि बढाइएको छ।

जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा गत शनिबार उनीहरू पक्राउ परेका थिए। आयोगले ज्यानसम्बन्धी मुद्दामा कारबाही सिफारिस गरेको छ, जसअनुसार ३ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान छ।

भदौ २३ गते आन्दोलनका क्रममा मृत्यु भएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। सोही जाहेरीका आधारमा अदालतबाट म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको छ।

पक्राउपछि ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका छन् भने लेखकलाई नेपाल प्रहरीको नम्बर २ गण, सामाखुशीमा राखिएको छ। दुवैविरुद्धको अनुसन्धान जिल्ला प्रहरी परिसर भद्रकालीले गरिरहेको छ।

परिसरका प्रवक्तापवनकुमार भट्टराईका अनुसार बुधबार बयानका लागि बोलाउने तयारी भए पनि ओलीको स्वास्थ्य अवस्थाका कारण सो दिन बयान नहुन पनि सक्छ। आवश्यकता अनुसार अर्को दिन बयान लिन सकिने बताइएको छ।

ओलीको स्वास्थ्य अवस्था जटिल रहेकाले म्याद थप प्रक्रिया भिडियो कन्फरेन्समार्फत सम्पन्न गरिएको थियो। बयानका लागि उनी स्वयं उपस्थित हुन नसके अर्को उपयुक्त समयमा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

यता, सोही घटनासम्बन्धी अनुसन्धानकै क्रममा तत्कालीन काठमाडौंका सीडीओछविलाल रिजाललाई मंगलबार पक्राउ गरिएको छ। उनको बयान भने बुधबार नलिइने जनाइएको छ।

प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन, प्रतिवेदन अध्ययन तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न पुनः म्याद थपका लागि अदालतसँग माग गर्ने तयारी गरेको छ।