काठमाडौं। प्रधानमन्त्रीबालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग निरन्तर छलफल गर्दै अत्यन्त आवश्यक परियोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग संवाद गर्दै प्रधानमन्त्री शाहले बजेटको सीमाभित्र रहेर जरुरी योजनाहरू अगाडि बढाउने तयारी रहेको बताए। कैलाली–४ बाट निर्वाचित सांसदखेमराज कोइरालाले हालसम्म अघि बढ्न नसकेका योजनाहरूको जानकारी दिएका थिए।

सुदूरपश्चिम प्रदेशका तत्काल आवश्यक २ अर्ब ६० करोड रुपैयाँ आसपासको बजेट विनियोजनका लागि सांसदहरूले आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले यसमा सकारात्मक जवाफ दिंदै बजेटअनुसार अत्यन्त आवश्यक योजनाहरू प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, एमाले सांसदऐनबहादुर महरसहितका सांसदहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीकेपी शर्मा ओलीको रिहाइको माग गरेका थिए। तर, प्रधानमन्त्री शाहले उक्त विषयमा प्रतिक्रिया नदिई कर्मचारीतन्त्र सुधार र विकासका अन्य जरुरी कामहरूमा ध्यान दिन आग्रह गरेका थिए।

छलफलका क्रममा गेटा अस्पताल निर्माण, सेती लोकमार्ग विस्तार जस्ता पूर्वाधार परियोजनाहरू पनि उठाइएका थिए। प्रधानमन्त्री शाहले गेटा अस्पताल निर्माणमा पूर्ण सकारात्मक भएको र आवश्यक परे तुरुन्त निर्णय गर्न तयार रहेको बताएका छन्। सेती लोकमार्गमा कैलाली–खक्रौला नाकादेखि चीनको ताक्लाकोटसम्मको बाटो विस्तार गर्न सांसदहरूले सुझाव दिएका थिए भने प्रधानमन्त्रीले यसबारे चासो देखाएका छन्।

प्रधानमन्त्रीले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग पनि छलफल गरी विकास र पूर्वाधार योजनाको प्राथमिकता निर्धारणको विषयमा संवाद गरिसकेका थिए।