काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए ।

सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरे । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उनले भने, ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’

‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं,’ उनले भने ।

काठमाडौं लगायत विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले दमन गरेको, घाइते बनाएको भन्दै उनले आपत्ति जनाए ।

एमालेले जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ र २४ को घटनामा दुई खाले निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ । एमालेले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । 
बरालले कार्की नेतृत्वको प्रतिवेदनको हबला दिँदै भदौ २४ को विध्वंसबारे प्रतिवेदनले केही नबोलेकोमा पुन छानबिन गर्नुपर्ने माग गरे ।