
काठमाडौँ प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार उनीमाथि गम्भीर प्रकृतिको उजुरी परेपछि बूढानीलकण्ठ नगरपालिका–कपनस्थित बालुवाखानी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरी स्रोतका अनुसार एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक गरेकी थिइन्। अमेरिकामा बस्दै आएकी ती युवतीले एक वर्षअघि कलाकार अमेरिका पुगेका बेला आफ्नो निवासमै जबर्जस्ती सम्बन्ध राखिएको दाबी गरेकी छन्।
उनले सार्वजनिक गरेको विवरणमा आफूले लामो समयदेखि चिनजान रहेको र पारिवारिक रूपमा समेत नजिक मानिएको व्यक्तिमाथि विश्वास गरेर घरमा लगेको तर त्यहीँ अप्रत्याशित घटना भएको उल्लेख छ। स्वास्थ्यसम्बन्धी व्यक्तिगत समस्या र मानसिक तनावका विषयमा कुरा भइरहेका बेला आफू शोषणमा परेको उनको भनाइ छ।
पीडित भनिएकी युवतीले घटनाबारे तत्काल परिवारलाई जानकारी गराउन नसकेको पनि बताएकी छन्। यस्तो खुलासा गर्दा पारिवारिक सम्बन्धमा असर पर्ने डर लागेको उनको दाबी छ। सामाजिक सञ्जालमै उनले आरोपित व्यक्तिलाई प्रश्न गर्दै कडा असन्तुष्टि व्यक्त गरेकी छन्।
उक्त आरोप सार्वजनिक भएपछि प्रहरी सक्रिय भई अनुसन्धान अघि बढाएको हो। काठमाडौँ उपत्यका प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।
यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बलात्कारको गम्भीर आरोप लागेपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालिरानी फिल्म्स प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा लम्साललाई फिल्मबाट हटाउने र उनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।


Facebook Comments