नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा आज (शनिबार)देखि सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले तय गरेको कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउन लागिएको हो।
यसअघि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सदस्यता वितरणदेखि प्रतिनिधि परिचालनसम्मका गतिविधि आजदेखि कार्यान्वयनमा जान लागेका छन्।
कार्यक्रमअनुसार केन्द्रबाट सदस्यता फारमहरू वडा तहसम्म पठाउने र वितरण व्यवस्थापनका लागि देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने योजना छ। ती प्रतिनिधिहरूलाई आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘ओरियन्टेसन’ दिइने कार्यवाहक मुख्यसचिवकृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
उनका अनुसार प्रतिनिधिहरूको नाम ‘ओरियन्टेसन’ कार्यक्रमपछि सार्वजनिक गरिनेछ। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने तयारी गरिएको छ।
महाधिवेशन तयारीअन्तर्गत पार्टीले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान सञ्चालन गर्नेछ। वडास्तरबाट संकलित सदस्यता विवरण १५ जेठसम्म सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लामा पठाउने र त्यसपछि २५ जेठसम्म केन्द्रमा प्रविष्ट गर्ने कार्यतालिका छ।
केन्द्रले सदस्यतामाथि आवश्यक छानबिन गरी १५ असारसम्म अन्तिम टुंगो लगाउने र असार मसान्तभित्र अद्यावधिक नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने योजना बनाइएको छ।



Facebook Comments