काठमाडौं । नवनिर्वाचित सभामुखडीपी अर्यालले पदबहाली गरेका छन्। आजैप्रतिनिधिसभाबैठकबाट निर्विरोध निर्वाचित भएका उनलेरामचन्द्र पौडेलसमक्ष शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यससँगै अर्याल व्यवस्थापिकाको सर्वोच्च पद सभामुखमा पुगेका छन्। राज्यको मर्यादाक्रमअनुसार अब उनी पाँचौँ स्थानमा रहनेछन्।

अर्याललाईराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सभामुखका लागि प्रस्ताव गरेको थियो, जसलाई आइतबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत गर्‍यो। सभामुख पदलाई साझा व्यक्तिको रूपमा राख्ने संसदीय अभ्यासअनुसार अन्य दलले उम्मेदवारी नदिँदा उनी निर्विरोध निर्वाचित भएका हुन्।

रास्वपाबाट सभामुखको उम्मेदवार बनेपछि अन्य दलहरूले समेत समर्थन जनाएका थिए। यसअघि नयाँ सरकार गठनका क्रममा उनले गृहमन्त्री बन्ने इच्छा देखाए पनि अन्ततः दलले उनलाई सभामुख बनाउने निर्णय गरेको थियो।

रास्वपा सभापतिरवि लामिछानेका विश्वासपात्र मानिने अर्याल पार्टी गठनअघिदेखि नै उनीसँग निकट थिए। उनलाई अब सदनको मूल नेतृत्व गर्दै व्यवस्थापकीय भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ।

अघिल्लो संसद्मा समानुपातिक सांसद रहेका अर्याल रास्वपा सरकारमा सहभागी हुँदा दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनेका थिए।

रवि लामिछाने कारागारमा रहँदा उनले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। यसपटक भने काठमाडौं–९ बाट फराकिलो मतान्तरले निर्वाचित भएका हुन्।

रास्वपाका उपसभापति तथा अर्थमन्त्रीस्वर्णिम वाग्लेले अर्यालको समन्वयात्मक क्षमता अब सदनमा देखिने विश्वास व्यक्त गरेका छन्।

राजनीतिक यात्राको सुरुवात २०७९ असार ७ गते रास्वपा गठनसँगै गरेका अर्याल पार्टीको केन्द्रीय संरचनामा सुरुदेखि नै सक्रिय थिए। उनी प्रवास विभाग प्रमुख तथा उपसभापति जस्ता जिम्मेवारीमा समेत रहेका थिए।

व्यवसायिक पृष्ठभूमिका अर्याल पर्यटन, शिक्षा, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय थिए। जापानमा बसोबास गर्दै रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेको अनुभवसमेत उनीसँग छ। धादिङ जिल्लामा जन्मिएका उनी हाल काठमाडौं महानगरपालिकामा बसोबास गर्दै आएका छन्।

अब सभामुखको रूपमा उनले संसद्को निष्पक्ष सञ्चालन, कार्यव्यवस्था बैठक आह्वान, संसदीय समिति गठन तथा संसद् सचिवालयको प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी पाएका छन्।

सामान्यतया सभामुखले मतदान गर्दैनन्, तर बराबरी मत परेको अवस्थामा निर्णायक मत दिने अधिकार भने सभामुखसँग रहने व्यवस्था छ।