काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पारेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भन्दै दलगत सहभागिताका आधारमा कसैलाई पनि भेदभाव नहुने स्पष्ट पारेका हुन् । संसदीय व्यवस्थामा सभामुख पदको गरिमालाई अझ उच्च बनाउने कार्यमा आफ्नो अहम भूमिका रहने उनको भनाइ छ ।
सभामुख अर्यालले संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष भएकाले यस कार्यको लागि संसद एक खुला विश्वविद्यालयसरह रहने धारणा राखे । सत्तापक्षको गुण र दोषको आधारमा प्रतिपक्षले भूमिका निर्वाह गर्ने हुँदा समाजमा सुशासन कायम गरी विकसित राष्ट्र निर्माणमा सवै सांसदहरुको प्रभावकारी भूमिका रहने उनले बताए ।
सभामुख अर्यालले संविधान र प्रचलित कानुनको अधीनमा रही राजनीतिक दलहरूसँगको आपसी सहयोग र समन्वयको आधारमा अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे । साथै उनले देशमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गरी विकास निर्माण गर्न र रोजगारी सिर्जनाका लागि आवश्यक कानुन बनाउने थलो संसद भएकोले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताको लागि आग्रह समेत गरे ।
सभामुख अर्यालले परिणाम प्राप्तिको लागि अझै पनि धेरै महत्वपूर्ण कानुन निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी रहेकाले समयबद्ध योजना बनाएर ती कार्यहरू सम्पन्न गर्न सबै सांसदहरुको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे । नयाँ कानुन निर्माण गर्नुभन्दा विद्यमान ऐन कानुनको गम्भीर समीक्षा र पुनरावलोकन गर्दै आवश्यक कानून निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ ।
त्यसअघि नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विगतका कतिपय गल्ति नदो¥याउने गरी काम गर्ने नवनिर्वाचित सभामुख अर्याललाई सुझाब दिएका थिए । संसदले उर्लिएको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने उनले सुझाए ।
फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको केसीले बताएका छन् ।
उनले भने, ‘हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं । तर, दल भन्दा राष्ट्रियता ठूलो हो । यसलाई कसरी संरक्षण गर्न सक्छौं । यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ ।’
संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास बदलिनुपर्ने उनले बताए । आकस्मिक समय सांसद्को विशेषाधिकार भएको उनले बताए ।
सभामुखलाई पनि उनले आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न उनले आग्रह गरे ।






Facebook Comments