काठमाडौं । राजाबाट सबैभन्दा बढी फाइदा लिने राप्रपाका नेताहरू राजाविरुद्ध परिचालित भएर राजसंस्थाको मुद्दा त्याग्न कोठे बैठक गरिरहेको राप्रपा केन्द्रीय सदस्यले दाबी गरेका गरेका छन् । जसले राजाको नाममा सबभन्दा बढी फाइदा लिए तिनीहरू नै राजाको विरुद्ध क्याम्पेन चलाइरहेका छन्,’ राप्रपाका केन्द्रीय सदस्य गोपाल पौडेलले आइतबार सामाजिक सन्जाल मार्फत भनेका छन्, ‘राजाको एजेन्डा छोड्नुपर्छ भनेर कोठे छलफल चलाइरहेका सुनिन्छ ।’
राप्रपा कहिल्यै नसकिने र पार्टीको एजेन्डा पनि परिवर्तन हुन नसक्ने उनको जिकिर छ । पौडेलको भनाइप्रति अर्का सुरेश आचार्यले पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘राप्रपा मर्दैन किनकि स्वार्थ र आशक्ति भएका सानो झुण्डले राप्रपालाई निजी हित जगेर्ना र फाइदा उठाउन चलाइरहन्छन् ।
कोमा मै गए पनि राप्रपा चलिरहन्छ । यो कुरामा सत्यता छ ।’आचार्यले थपेका छन्, ‘तर मेरो विचारमा राप्रपा हरेक राजनीतिक दृष्टिकोणले ह्रासोन्मुख दल हो, यो राजनीतिक रूपमा धराशायी हुने अन्तिम घिडघिडोको अवस्थामा पुगेको छगणितीय, वैज्ञानिक आधारमा २०४८ को चुनावभन्दा २०८२ मा राप्रपाको तीन चौथाइ जनसमर्थन र गुण समाप्त भइसकेको उनको जिकिर छ ।
लोकेन्द्रबहादुर चन्द र सुर्यबहादुर थापाको नेतृत्वकालदेखि राजेन्द्र लिङ्देन अध्यक्ष भएको वर्तमान अवस्थामा पुग्दा राप्रपा ‘बाल–बाल’ राष्ट्रिय पार्टी भएको उनको भनाइ छ । ‘यही औसत दरमा ह्रास हुने हो भने राप्रपा अर्को चुनावदेखि कहिले पनि राष्ट्रिय स्तरको पार्टी बन्नै नसक्ने अथवा प्रजा परिषद्मा सिमित रहने मेरो निष्कर्ष हो,’ नेता आचार्यले भनेका छन् ।राप्रपा छाडेका रवीन्द्र मिश्रले भने राप्रपा सच्चिने कि सक्किने भनेर लेख नै लेखेका छन् ।
राप्रपाभित्रको शीर्ष एक तहले राप्रपालाई सुधार हुनै नदिने सङ्केत गर्दै पूर्व उपाध्यक्ष मिश्रले राप्रपा नसच्चिए अर्कै राष्ट्रवादी धारको मध्यम दक्षिणपन्थी दलबाट राप्रपा विस्थापित हुने निष्कर्ष प्रस्तुत गरेका हुन् । चुनावमा कमजोर नतिजा हासिलपछि राप्रपाभित्र असन्तुष्टि बढेको छ भने नेताहरू आन्तरिक गुटगत छलफलमा जुट्न थालेका छन् । स्रोत अनुसार, हालै पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ समेतको सहभागितामा उपाध्यक्ष ध्रुवबहादुर प्रधानको निवासमा लिङ्देन निकट नेताहरूको बैठक भएको थियो । बैठकमा एजेन्डा परिवर्तनको कुरा समेत उठ्न थालेको भनिएका बेला पौडेललगायतबाट यस्तो टिप्पणी बाहिर आएको हो ।
तस्विरः राप्रपाका केन्द्रीय सदस्य गोपाल पौडेल




Facebook Comments