
काठमाडौं । पूर्वप्रधानमन्त्रीशेरबहादुर देउवार उनकी पत्नी तथा पूर्वमन्त्रीआरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको आशंकामासम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको हो ।
अदालतले पक्राउ अनुमति दिइसके पनि देउवा दम्पत्ति हाल नेपालमा नरहेको बताइएको छ । उनीहरू स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जनाइएको छ । प्रारम्भमा सिङ्गापुर गएका देउवा दम्पत्ति हाल हङकङमा रहेको स्रोतको भनाइ छ ।
जेन–जी आन्दोलनपछि बनेकोसुशीला कार्कीनेतृत्वको सरकारले नै देउवा दम्पत्तिमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो । त्यसपछि विभागले आवश्यक प्रमाण संकलन गर्दै अनुसन्धानलाई तीव्र बनाएको हो । पछिल्लो समय काठमाडौं महानगर प्रमुखबालेन शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यो प्रकरण अझ सक्रिय रूपमा अघि बढाइएको बताइएको छ ।
सम्पत्ति शुद्धीकरणकै अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउर्जामन्त्रीदीपक खड्कालाई चैत १५ गते पक्राउ गरिसकेको छ । यसै मुद्दामा विभागले पूर्वप्रधानमन्त्रीहरूकेपी शर्मा ओली,पुष्पकमल दाहाललगायतलाई समेत अनुसन्धानको दायरामा राखेको जनाएको छ ।
ओली भने चैत १४ गतेदेखि हिरासतमा रहेको बताइएको छ । भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगको सिफारिसपछि उनीमाथि कारबाही अघि बढाइएको हो ।
यसैबीच, प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको संरचना भत्काउने काम प्रहरीले रोकेको छ । केही दिनदेखि देउवा परिवारको निर्देशनमा कामदारहरू परिचालन गरी भवन भत्काउने काम भइरहेको थियो ।
देउवा परिवारविरुद्ध यसअघि नै अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी परेको थियो । पछिल्लो डेढ वर्षमा देउवा पुत्र जयवीर देउवा तथा उनका नजिकका नातेदारका नाममा करिब ७३ रोपनी जग्गा खरिद भएको विवरणसमेत संकलन गरिएको जनाइएको छ । साथै, विभिन्न व्यक्तिहरूबीच भएको आर्थिक कारोबारको विवरण पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।
त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि आरजु राणा देउवाको संलग्नता रहेको आशंका अनुसन्धानमा समेटिएको छ ।
डडेल्धुरामा जन्मिएका शेरबहादुर देउवा नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । उनी २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा प्रधानमन्त्री बनेका थिए ।
कुल मिलाएर करिब ५ वर्ष ९ महिनाभन्दा बढी समय प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवा अहिले भने सम्पत्ति शुद्धीकरण अनुसन्धानको केन्द्रमा परेका छन् ।






Facebook Comments