काठमाडौं — प्रधानमन्त्रीवालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको सामूहिक शिष्टाचार भेटमा नेपाल सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित भेटका क्रममा उनले नेपालले सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने, पारस्परिक विश्वास र लाभमा आधारित सहकार्यलाई अघि बढाउने नीति लिएको स्पष्ट पारे ।

“नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग प्रदान गर्ने सबै मित्र राष्ट्रप्रति हामी आभारी छौँ ।”

उनले विश्वमा भइरहेका द्वन्द्वले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने उल्लेख गर्दै शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए । “द्वन्द्वका कारण सर्वसाधारण नागरिक प्रभावित भइरहेका छन् । त्यसैले शान्ति कायम गर्न सामूहिक प्रयास आवश्यक छ,” उनले बताए ।

प्रधानमन्त्री शाहले लगानीका लागि अनुकूल वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन र दिगो विकासलाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता दोहोर्याए । साथै, राष्ट्रिय हितअनुकूल रूपमा नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद होइन,” उनले भने, “राजनीतिक स्थायित्व कायम राख्दै नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाउनेतर्फ हामी दृढ छौँ ।”

उनका अनुसार विकास, व्यापार, लगानी, जलवायु परिवर्तनका मुद्दा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अघि बढाउन सरकार इच्छुक छ । विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री शाहको भनाइले नेपालले सन्तुलित कूटनीति, आर्थिक सहकार्य र दिगो विकासमार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ मजबुत बनाउने स्पष्ट संकेत दिएको छ ।