काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयसँग जोडिएको बहुचर्चित सुन तस्करी प्रकरणमा संलग्न उच्च पदस्थ कर्मचारी, पूर्व सभामुखसहित विभिन्न व्यक्तिहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार, सुन तस्करसँग मिलेमतो गरी भन्सार कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गर्दै अवैध रूपमा सुन भित्र्याउन सहयोग पु¥याएको, जसबाट ठूलो परिमाणमा राजस्व चुहावट हुनुका साथै गैरकानुनी सम्पत्ति आर्जन गरिएको निष्कर्ष निकालिएको छ । अनुसन्धानका क्रममा मिति २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिक ली हाङ सोङले दुईवटा सुटकेसभित्र ७३० थान ‘भेप’ (इलेक्ट्रोनिक सिगरेट) मा सुन लुकाएर ल्याएको पाइएको थियो। एक्स–रे जाँचमा शंकास्पद देखिए पनि भन्सारका कर्मचारीहरूले आवश्यक जाँच नगरी उक्त सामान जफत गर्ने नाममा सुरक्षित राखिएको देखिएको आयोगको ठहर छ । आयोगका अनुसार जफत गरिएको सामग्रीलाई तोकिएको गोदाममा नराखी प्रमुख भन्सार अधिकृतको कार्यकक्षमै राखिएको, पछि गोदाममा सार्दा सीसीटीभीले नदेख्ने स्थानमा राखी सुन भएको ‘भेप’ हटाएर सुन नभएको वस्तु प्रतिस्थापन गरिएको पुष्टि भएको छ। यसरी सुन चोरी गरी बजारमा बिक्री वितरण गरिएको र त्यसबाट प्राप्त रकम विभिन्न व्यक्तिका नाममा बैंक खातामार्फत तथा जग्गा खरिदमार्फत व्यवस्थापन गरिएको अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल (रेशम) महरा लगायतले भन्सारका उच्च अधिकारीहरूलाई प्रभावमा पार्दै अवैध सुन छुटाउन सक्रिय भूमिका खेलेको आयोगले जनाएको छ । अनुसन्धानबाट कुल ८४८०.५१५ ग्राम सुन हिनामिना गरिएको पुष्टि भएको छ, जसको मूल्य ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबर रहेको छ । आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासकदेखि नायब सुब्बासम्मका १० जना कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको छ । त्यस्तै पूर्व सभामुखसहित १८ जना व्यक्ति तथा एक कम्पनीलाई मतियारको रूपमा अभियोग लगाइएको छ । 

मुख्य कसुरदार :

अरुण पोखरेल                    मुक्ति प्रसाद श्रेष्ठ
अम्बिका प्रसाद खनाल          रमेश कुमार खतिवडा
सुबेन्द्र श्रेष्ठ                            सुवर्णाप्रभा के.सी.
भुवनराज घिमिरे                    उमेश प्रसाद कोइराला
रेवन्त खड्का                       मधुसुदन पोख्रेल

विगो प्रतिव्यक्ति ७,७८,६८,०९५ रुपैयाँ

कसुरः 
–भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार भ्रष्टाचार
–पदको दुरुपयोग गरी सुन तस्करीमा सहयोग
–राजस्व चुहावट गराउने कार्य

माग सजायः
–कैद
–बिगो बराबर जरिवाना
–बिगो असुलउपर

सहयोगी÷साँठगाँठ गर्ने समूह ः

कृष्ण बहादुर महरा
पहिलो संविधानसभा निर्वाचनलगत्तै चिनियासँग ‘नेपालमा सांसद खरिद बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो नै सार्वजनिक भएपछि विवादमा तानिएका महरा जति शक्तिशाली पदमा पुगेपनि विवादबाट अलग हुन भने सकेनन् । २६ फागुन ०७४ मा प्रतिनिधिसभाको सभामुख बनेका उनी त्यही बेला संसद् सचिवालयमै कार्यरत एक महिलामाथि ‘बलात्कार गरेको आरोप’मा मुछिए । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।

राहुल (रेशम) महरा                        निर्मल कुमार वि.क.
लोकेन्द्र कुमार पौडेल                    दिपेश बस्नेत
गोपाल सुवेदी                              दिनेश बस्नेत
वेद प्रकाश अग्रवाल                      राम केशव थापा क्षेत्री
अमृत कार्की                               निमा गुरुङ
प्रेरणा थापा                               ललिता थापा
दिपिका थापा                           चिनियाँ नागरिक LI HANG SONG

DAOJING WANG

बेल्जियम नागरिक DAWA TSERING    भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगले

DEXTER TRAVELS AND TOURS PVT LTD

बिगोः ७,७८,६८,०९५ रुपैयाँ

कसुरः
–भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २२ अनुसार “मतियार” (सहयोगी)
–गैरकानुनी लाभ लिन÷दिलाउन सहयोग
–सुन तस्करी, सम्पत्ति रूपान्तरण र व्यवस्थापनमा संलग्नता

माग सजायः
–मुख्य कसुरदार सरह कैद र जरिवाना
–बिगो बराबर असुलउपर

तस्विरः कृष्णबहादुर महरा र राहुल महरा