काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा मुछिएको समूहसँग वर्तमान गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष आर्थिक सम्बन्ध देखिएको तथ्य सार्वजनिक भएपछि सरकारको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।
सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानको दायरामा रहेका विचौलिया दीपक भट्ट समूहसँग जोडिएको लघु बीमा कम्पनीमा गृहमन्त्री गुरुङको समेत लगानी रहेको खुलेको हो । कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेखअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स’मा गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ । सोही समूहसँग सम्बन्धित अर्को कम्पनीमा समेत गरी करिब ५० लाख रुपैयाँको संस्थापक सेयर गुरुङसँग रहेको विवरण सार्वजनिक भइसकेको छ ।
यो लगानी उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्पष्ट रूपमा उल्लेख नगरेको तथ्यले थप शंका जन्माएको छ । सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्नो सम्पत्तिको पूर्ण विवरण नखुलाउनु आफैंमा गम्भीर विषय मानिन्छ ।
२०७९ पछि लघु बीमा कम्पनीहरूको लाइसेन्स वितरणमै विवाद भएको थियो । तत्कालीन नियामक नेतृत्वले सीमित व्यापारी समूहलाई फाइदा पुग्ने गरी ७ कम्पनीलाई लाइसेन्स दिएको आरोप लाग्दै आएको छ । त्यही ‘सेटिङ’ मा लाइसेन्स पाएको कम्पनीमा अहिले गृहमन्त्रीकै साझेदारी देखिनु संयोग मात्र हो कि संगठित स्वार्थको निरन्तरता—यो प्रश्न उठेको छ ।
स्टार माइक्रो इन्स्योरेन्समा भट्ट समूहसँगै शंकर समूहका विभिन्न सम्बद्ध व्यक्ति, उद्योगी तथा विवादास्पद पृष्ठभूमिका लगानीकर्ताहरूको उपस्थिति देखिन्छ । यसले कम्पनीको संरचना नै विचौलिया नेटवर्कसँग गाँसिएको संकेत गर्छ ।
यता गृहमन्त्री गुरुङको सेयर गतिविधि पनि अस्वाभाविक रूपमा तीव्र देखिएको छ । गृहमन्त्री नियुक्त हुनुभन्दा केही साताअघि मात्र उनले धितोपत्र बजारमा ५० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गरेका थिए । माघ १५ देखि चैत ८ सम्मको अवधिमा उनले १० पटक कारोबार गर्दै ५३ लाखभन्दा बढी लगानी गरेको विवरण भेटिएको छ ।
गृहमन्त्री नियुक्त हुनुभन्दा पाँच दिनअघि मात्रै एकै दिन ७ वटा कारोबार गर्नुले समेत भित्री सूचनाको पहुँच वा प्रभावको आशंका उब्जाएको छ ।
अझ रोचक त के भने, उनले आफ्नो सम्पत्ति विवरणमा स्टक मार्केटमा रहेको २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर उल्लेख गरे पनि कुन कम्पनीमा कति लगानी छ भन्ने खुलाएका छैनन् ।
विचौलिया अर्थतन्त्रको विरोध गर्दै उदाएका र ‘सुशासन’को नारा बोकेर सत्तामा पुगेका गुरुङ स्वयं विवादास्पद समूहसँग आर्थिक रूपमा जोडिएको देखिनु राजनीतिक रूपमा सबैभन्दा ठूलो विरोधाभास बनेको छ ।
जेनजी आन्दोलनबाट स्थापित नेतृत्व, सुशासनको वाचा, र भ्रष्टाचारविरुद्ध कडा कदमको दाबी—यी सबै भाषणबीच गृहमन्त्रीकै लगानी र सम्बन्धले सरकारको विश्वसनीयतामाथि गम्भीर धक्का दिएको छ ।
गुरुङले भने यसबारे उठेका प्रश्नमा स्पष्ट जवाफ दिनुको सट्टा “गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो” भन्ने टिप्पणी गरेका छन्, जसले थप विवाद निम्त्याएको छ ।




Facebook Comments