काठमाडौं ।नेपाली कांग्रेसले गृहमन्त्रीसुधन गुरुङविरुद्ध उठेका आरोपबारे तत्काल उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।

सोमबार पार्टी प्रवक्तादेवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता, पारदर्शिता र जनविश्वाससँग जोडिएका गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायीदीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको भन्दै सार्वजनिक भएका समाचारप्रति कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ। साथै, गुरुङले जेनजी आन्दोलनपछि खरिद गरेको भनिएको शेयर आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोपसमेत उठेको कांग्रेसको भनाइ छ।

कांग्रेसले यी सबै विषयको स्वतन्त्र, निष्पक्ष र प्रभावरहित छानबिन तत्काल सुरु गर्न माग गर्दै ढिलासुस्ती नगर्न सरकारलाई चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ कि यस्ता संवेदनशील विषयलाई प्रभाव, ढाकछोप वा ढिलाइतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन र जनविश्वासमा गम्भीर आघात पुर्‍याउनेछ।

त्यस्तै, अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम गर्न गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने कांग्रेसको स्पष्ट माग छ। पदमा रहँदै अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका रहने भएकाले निष्पक्ष वातावरण सुनिश्चित गर्न राजीनामा आवश्यक भएको कांग्रेसको धारणा छ।

कांग्रेसले यसअघि केन्द्रीय कार्यसमिति बैठकबाटै मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको स्मरण गराउँदै, अहिलेको प्रकरणमा पनि त्यही मापदण्ड लागू हुनुपर्ने बताएको छ।