
पोखरा । पोखराका विभिन्न क्षेत्रमा बुधबार राति एकाएक प्रहरीको सक्रियता तीव्र बनेपछि स्थानीयहरू अचम्मित भए। काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले व्यापक सोधपुछ, नियन्त्रण र भ्यानमार्फत व्यक्तिहरूलाई लैजाने गतिविधि सञ्चालन गर्यो। यो अभियान करिब १० घण्टासम्म, बिहीबार बिहानसम्म निरन्तर चल्यो।
पछि खुलेको तथ्य अनुसार, यो जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ थियो। समाजमा बढ्दो टोले गुण्डागर्दी, लागुऔषध ओसारपसार तथा प्रयोग, र अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
कास्की प्रहरीका अनुसार बुधबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म करिब १०० प्रहरी परिचालन गरिएको थियो।
यो अभियान टोले गुण्डागर्दी, लागुऔषध कारोबार तथा प्रयोग, शंकास्पद गतिविधि र मादक पदार्थ सेवन गरी अशान्ति फैलाउनेविरुद्ध केन्द्रित थियो । यस क्रममा १२२ जनालाई नियन्त्रणमा लिइएको छ। केहीलाई सोधपुछपछि छाडिएको छ।
नयाँ वर्ष २०८३ सुरु भएयता कास्की प्रहरीले एकै रात यति ठूलो संख्यामा नियन्त्रणमा लिएको यो पहिलो घटना हो। यसअघि नयाँ वर्षकै दिन २२ जना पक्राउ परेका थिए, जसमध्ये १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। तीमध्ये ४ जनामाथि मानव बेचबिखन र ६ जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको पृष्ठभूमि र गतिविधिबारे अनुसन्धान जारी छ। पोखरामा लागुऔषध प्रयोगकर्ता तथा कारोबारी बढ्दै गएको र ‘जेनजी’ आन्दोलनपछि गुण्डागर्दीसम्बन्धी गुनासो बढेकाले यस्तो अभियान सञ्चालन गरिएको जनाइएको छ।
पर्यटकलाई दुःख दिएको आरोपमा २० महिला पक्राउ
यसैबीच, लेकसाइडको ओजन गल्लीसहित विभिन्न स्थानबाट पर्यटकलाई दुःख दिएको आरोपमा २० जना महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। वैशाख ५ र ८ गते गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार ती महिलामाथि यौनकार्यका लागि ग्राहक खोज्ने, होटल मिलाउने र पर्यटकसँग आर्थिक लेनदेनमा ठगी गर्ने गुनासो आएको थियो। लेकसाइडका व्यवसायीहरूले समेत सडकमै खुला रूपमा यस्ता गतिविधि भइरहेको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए।
नागरिक समाजको चिन्ता: निर्दोष नफसून्
यता नागरिक समाजले भने ‘स्वीप अपरेसन’का क्रममा निर्दोष नागरिकसमेत अनाहकमा समातिन सक्ने जोखिम रहेको भन्दै सचेत रहन प्रहरीलाई आग्रह गरेको छ। उनीहरूले प्रहरीले कानून कार्यान्वयन गर्दा नागरिकको स्वतन्त्रता र अधिकारको सम्मान गर्नुपर्ने बताएका छन्।




Facebook Comments