काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ। सीआईबी प्रमुख एआईजी डा. मनोज केसीका अनुसार गोल्छामाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत विभिन्न दफाअनुसार कसूरको आरोप लगाइएको छ।
धितोपत्र बोर्डको प्रतिवेदनमा बीमा कम्पनीहरूको फन्ड प्रयोग गरी विभिन्न कम्पनीको सेयरमा चलखेल गरिएको उल्लेख छ। प्रतिवेदनअनुसार व्यवसायी दिपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर खरिद गरी मूल्य बढाएर बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेको देखिएको छ।
अनुसन्धानले भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानलाई मुख्य योजनाकारका रूपमा औंल्याएको छ। उनीहरूमाथि सेयर बजारलाई प्रभावित पार्ने तथा जालसाजीपूर्ण कारोबार गरेको आरोप छ। भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् भने चाचान फरार छन्।
यस प्रकरणमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापिटल, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटिज, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा समेतको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै, शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स, ऋषिराज मोर र राजबहादुर शाहले पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाउन भूमिका खेलेको अनुसन्धानले देखाएको छ।
धितोपत्र बोर्डले यी सबै व्यक्ति तथा संस्थामाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो। शुभी अग्रवाल, हाल सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासतमा रहेका सुलभ अग्रवालकी श्रीमती हुन्। सुलभ अग्रवाल हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत हुन्।




Facebook Comments