काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका संरचनाहरु भत्काउन सुरु गरिएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरिरहेको छ ।

बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन नदेखिएको हो ।  शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए ।  सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।

सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।

सरकारले राजधानीका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने क्रममा पहिचान भएका 'वास्तविक' सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने भएको छ। 

थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो।