
सुर्खेत ।पुष्पकमल दाहाल‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।
बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठनसम्म खारेज गर्ने सरकारी तयारीप्रति आपत्ति जनाउँदै सरकारको शैलीप्रति कडा टिप्पणी गरे।
अध्यादेशको प्रसङ्ग उठाउँदै उनले सदनलाई छल्दै अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन स्थगित गर्ने कार्य लोकतन्त्र र संसदीय परम्पराविरुद्ध भएको बताए। “यस्तो अभ्यास संविधानसम्मत छैन, हामीले सरकारलाई यसबारे सचेत गराएका छौँ,” उनले भने।
प्रचण्डले सुकुमबासी समस्यामा सरकारको कदमको पनि आलोचना गरे। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग वा डोजर प्रयोग गरेर हटाउने कार्य गलत भएको उनको भनाइ छ। “यदि अतिक्रमण भएको भए पनि वास्तविक अवस्था बुझेर समाधान खोज्नुपर्थ्यो, तर सरकारले हतारमा कठोर कदम चाल्यो,” उनले बताए।
उनले तत्कालीन माओवादी सरकारका पालामा सुकुमबासी व्यवस्थापनका लागि आवास (अपार्टमेन्ट) निर्माणको पहल गरिएको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
अहिले सेना र सशस्त्र प्रहरीसमेत प्रयोग गरेर हजारौँ परिवारलाई समस्यामा पारिएको उल्लेख गर्दै उनले सरकारलाई तत्काल वैकल्पिक व्यवस्थामा ध्यान दिन आग्रह गरे।
साथै, उनले सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्ने तर गलत कदमको भने सशक्त विरोध गर्ने स्पष्ट पारे।


Facebook Comments