
काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज नेपालसहित विश्वभर १३७औँअन्तर्राष्ट्रिय श्रमिक दिवसविभिन्न कार्यक्रम गरी मनाइँदैछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर रोजगारदाता, श्रमिक तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा विविध कार्यक्रम सञ्चालन भइरहेका छन्। सन् १८८९ मापेरिसमा सम्पन्न श्रमिक सम्मेलनको निर्णयअनुसार सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउने परम्परा रहिआएको छ।
नेपालमा भने विसं २००७ मा भएकोविराटनगर मजदुर आन्दोलनपछि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन सुरु गरेको थियो।
यस अवसरमा श्रमिकहरूले आफ्ना हक–अधिकार सुनिश्चित गर्न सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्। सरकारी कार्यक्रमहरूमा श्रमिकको अवस्था, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, वैदेशिक रोजगार तथा स्वदेशमै रोजगारी सिर्जनाका विषयमा छलफल हुने गरेको छ।
मन्त्रालयका अनुसार श्रम क्षेत्रमा विगतको तुलनामा सुधार आएको छ। हाल न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकिएको छ भने प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गर्ने व्यवस्था छ। त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत करिब २९ लाख श्रमिक समावेश भइसकेका छन्।
नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन्, जसबाट आउने विप्रेषणले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा विदेशबाट आर्जित सीप, पूँजी र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ।
प्रविधिको तीव्र विकाससँगै श्रम बजारमा आएको परिवर्तनले रोजगारी सुनिश्चितता चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा युवा लक्षित दीर्घकालीन योजना र रोजगार सिर्जनालाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।




Facebook Comments