काठमाडौं ।लिपुलेक पासहुँदैकैलाश मानसरोवरजाने यात्रालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक तनाव देखिएको छ। भारत र चीनले उक्त मार्ग प्रयोग गरी तीर्थयात्रा सञ्चालन गर्ने विषय सार्वजनिक भएपछि नेपाल सरकारले आइतबार दुवै देशलाई कूटनीतिक नोट पठाउँदै आपत्ति जनाएको हो।

नेपालको परराष्ट्र मन्त्रालयलेसुगौली सन्धिअनुसार महाकाली नदी पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको स्पष्ट पार्दै उक्त क्षेत्रमा हुने कुनै पनि गतिविधिप्रति असहमति जनाएको छ। नेपालले विवादित क्षेत्रमा सडक निर्माण, व्यापार वा तीर्थाटनसम्बन्धी गतिविधि नगर्न भारतलाई आग्रह गर्नुका साथै चीनलाई पनि यसबारे औपचारिक जानकारी गराएको जनाएको छ।

नेपालको कूटनीतिक नोटको केही घण्टामै प्रतिक्रिया दिँदै भारतले भने उक्त मार्ग नयाँ नभएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्तारणधीर जैसवालले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग सन् १९५४ देखि निरन्तर प्रयोगमा रहेको पुरानो बाटो भएको बताएका छन्। उनका अनुसार यो मार्ग दशकौँदेखि सञ्चालनमा रहेकाले यसलाई नयाँ विषयका रूपमा लिन नहुने भारतको धारणा छ।

भारतले नेपालको केही भू–भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्यमा आधारित नभएको भन्दै ‘एकतर्फी र कृत्रिम विस्तार’को संज्ञा दिएको छ। यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै सीमा विवादलगायतका सबै विषयहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर नेपाल–भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो घटनाक्रमले दुवै देश आ–आफ्नै अडानमा रहे पनि वार्तामार्फत समाधान खोज्ने आवश्यकता अझै बढेको संकेत गरेको छ।