काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने तयारी अघि बढाएको छ । आसन्न १५औं महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र आन्तरिक रणनीति तय गर्न यस्तो अभियान थालिएको नेताहरूले बताएका छन् ।

पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिरहेका बेला देउवा समूहले समानान्तर रूपमा आफ्ना विचार समूहका नेताहरूलाई सक्रिय बनाउने उद्देश्यसहित प्रदेश भेला आयोजना गर्न लागेको हो ।

देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का को सचिवालयका अनुसार सातै प्रदेशमा भेला आयोजना गर्ने तयारी भइरहेको छ ।

प्रदेश भेलामा वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी दिशा र रणनीतिबारे समेत छलफल हुने बताइएको छ ।

देउवा समूहले प्रदेशअनुसार समन्वयको जिम्मेवारी पनि बाँडफाँट गरेको छ । कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्द प्रसाद ढुंगाना, गण्डकीमा मेखलाल श्रेष्ठ तथा बागमतीमा प्रकाशमान सिंह  र प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउद लाई समन्वयको जिम्मा दिइएको छ ।

प्रदेशस्तरीय भेलाको सुरुवात कोशी प्रदेशबाट हुने भएको छ । विराटनगरमा २९ वैशाखमा पहिलो भेला आयोजना गर्ने तयारी गरिएको नेता विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा भेला आयोजना गर्ने विषयमा बिहीबार काठमाडौंमा प्रदेश सभापति वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखकबीच छलफल भएको थियो । उक्त छलफलमा कैलाली सभापति नारायण भट्ट, कञ्चनपुर सभापति पदम बोगटी र डोटी सभापति नरेन्द्रबहादुर सिंह पनि सहभागी थिए ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पनि प्रदेशस्तरीय भेलाको तयारी भइरहेको पुष्टि गर्दै मिति भने तय भइनसकेको बताए ।

गण्डकी प्रदेशमा भेला तयारीका लागि निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले नेताहरूलाई सूचना पठाएका छन् । आगामी रणनीति र पार्टीभित्र विकसित अवस्थाबारे छलफल गर्न पोखरामा आइतबार बैठक बोलाइएको उनले बताएका छन् ।

देउवा समूहले गण्डकी भेलामा निवर्तमान केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश पदाधिकारी, प्रदेशसभा सदस्य तथा निर्वाचनमा उम्मेदवार बनेका नेताहरूलाई सहभागी गराउने तयारी गरेको छ ।

यता, प्रकाशमान सिंह निवास चाक्सीबारीमा बुधबार बसेको बैठकले बागमती प्रदेशस्तरीय भेला ३० वैशाखमा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको थियो ।

यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ वैशाखमा दुई दिने भेला बोलाएका थिए । उक्त भेलामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति तथा भ्रातृ संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

उता, नेपाली कांग्रेसले भने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ सञ्चालन गरिरहेको छ ।

कांग्रेसको कार्यक्रमअनुसार सुदूरपश्चिम प्रदेशस्तरीय भेला २६ र २७ वैशाखमा धनगढीमा, कर्णाली प्रदेशको २८ र २९ वैशाखमा सुर्खेतमा तथा गण्डकी प्रदेशको ३१ वैशाख र १ जेठमा पोखरामा आयोजना हुनेछ ।

त्यसैगरी बागमती प्रदेशस्तरीय भेला ४ र ५ जेठमा धुलिखेलमा, मधेश प्रदेशको ६ र ७ जेठमा बर्दिबासमा, कोशी प्रदेशको ८ र ९ जेठमा लौकहीमा तथा लुम्बिनी प्रदेशको १४ र १५ जेठमा तिलोत्तमामा हुने कार्यक्रम तय गरिएको छ ।