रुकुमपूर्व । सिस्ने गाउँपालिकाले पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउन डोजर चलाएको छ । गाउँपालिका–५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहललगायत क्षेत्रमा बनाइएका घरटहरा तथा व्यावसायिक संरचना हटाउन अभियान सुरु गरिएको हो ।

गाउँपालिकाले यसअघि पटक–पटक सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न आग्रह गरेको थियो । समयसीमा दिँदासमेत अटेरी गरेपछि स्थानीय प्रशासन कडा सुरक्षा व्यवस्थासहित डोजर परिचालन गरेर संरचना हटाउन बाध्य भएको जनाएको छ ।

राजमार्ग क्षेत्र मिचेर बनाइएका अस्थायी तथा स्थायी संरचनाका कारण सडक साँघुरो हुनुका साथै यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा समेत समस्या उत्पन्न हुँदै आएको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सडक अवरुद्ध बनाउने गतिविधि स्वीकार्य नहुने बताए । “हामीले पटक–पटक सम्झायौं, सूचना जारी गर्‍यौं र समय पनि दियौं । त्यसपछि पनि अटेरी गरेकाले कानुन कार्यान्वयन गर्नुको विकल्प रहेन,” उनले भने ।

संरचना हटाउने क्रममा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना नहटाइए थप कडा कारबाही गरिने चेतावनी दिएको छ ।

गाउँपालिकाका अनुसार हटाइएका संरचनासँग सम्बन्धित खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिनेछ ।