
काठमाडौं ।Embassy of Bangladesh in NepalलेExport Promotion Bureau of Bangladeshसँगको सहकार्यमा दक्षिण एशिया ट्रेड फेयर २०२६ मा सहभागी नेपाली तथा बंगलादेशी व्यवसायीहरूको सम्मानमा बिहीबार काठमाडौं मेरियट होटलमा नेटवर्किङ डिनर आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्स (एनसीसी), नेपाल विदेशी व्यापार संघ (एनएफटीए) लगायतका व्यावसायिक संस्थाका प्रतिनिधि, उद्यमी, लगानीकर्ता, नीति निर्माता, कूटनीतिज्ञ तथा व्यापार मेलामा सहभागी बंगलादेशी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

दक्षिण एशिया ट्रेड फेयर २०२६ मा बंगलादेशका २४ वटा व्यवसायिक कम्पनी सहभागी भएका छन् । ती कम्पनीहरूले तयारी पोशाक, हस्तकला, जुट तथा जुटजन्य उत्पादनलगायत निर्यातमुखी उत्पादनहरू प्रदर्शन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूतएमडी शफिकुर रहमानले नेपाल र बंगलादेशबीच व्यापार, लगानी तथा व्यावसायिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनले बंगलादेश तयारी पोशाक, जुट तथा जुटजन्य सामग्री, औषधि, छाला सामग्री, कपडा उद्योगलगायत क्षेत्रमा एशियाकै प्रतिस्पर्धी उत्पादन तथा निर्यात केन्द्रको रूपमा उदाएको उल्लेख गरे । साथै कृषि प्रशोधन, ऊर्जा, औषधि, पर्यटन, सूचना प्रविधि, फ्रोजन माछा तथा समुद्री खाद्य पदार्थका क्षेत्रमा नेपाल–बंगलादेश सहकार्यको ठूलो सम्भावना रहेको बताए ।

राजदूत रहमानले बंगलाबन्धाजस्ता स्थल बन्दरगाहको प्रयोग र क्षेत्रीय कनेक्टिभिटी विस्तारले दुई देशबीचको व्यापार सहज बनाउँदै नयाँ अवसर सिर्जना गरिरहेको उल्लेख गरे । उनले दुवै देशका व्यवसायीलाई आवश्यक सहयोग गर्न दूतावास तयार रहेको पनि बताए ।
उद्घाटन सत्रपछि आयोजित अन्तरक्रियात्मक बिजनेस नेटवर्किङ कार्यक्रममा नेपाली र बंगलादेशी उद्यमीहरूले द्विपक्षीय व्यापार विस्तार, लगानी साझेदारी तथा क्षेत्रीय आर्थिक सहकार्यका नयाँ सम्भावनाबारे छलफल गरेका थिए ।
कार्यक्रमको समापन डिनर तथा नेटवर्किङ सत्रमार्फत गरिएको थियो ।
यसअघि बिहीबार दिउँसो दूतावासले काठमाडौंस्थित आफ्नो कार्यालयमा नेपाली तथा बंगलादेशी व्यवसायीबीच ‘बिजनेस–टु–बिजनेस’ (बीटुबि) बैठक पनि आयोजना गरेको थियो । उक्त बैठकमा व्यापार र लगानी सहकार्य विस्तारका सम्भावनाबारे छलफल गरिएको दूतावासले जनाएको छ ।




Facebook Comments