राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेले सरकारका पछिल्ला निर्णय, न्यायपालिका सम्बन्धी विवाद, पार्टीभित्रको एकता र सांसदहरूको भूमिकाबारे स्पष्ट धारणा राख्दै आफ्ना सांसदहरूलाई परिणाममुखी राजनीति गर्न निर्देशन दिएका छन् । पार्टीका प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सरकारले चालेका कदमहरू सोचविचार गरेरै अघि बढाइएको दाबी गर्दै पार्टीभित्र कुनै गुट–उपगुट नरहेको स्पष्ट पारे ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा दिएको अभिव्यक्तिपछि उठेको बहसप्रति प्रतिक्रिया दिँदै लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि भइरहेको आलोचना राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको टिप्पणी गरे । उनले संवैधानिक परिषद्ले गरेको सिफारिसलाई असंवैधानिक भनिनु उचित नभएको बताउँदै यदि वरिष्ठताको आधारमै स्वतः नियुक्ति गर्ने व्यवस्था हुने हो भने संवैधानिक परिषद्को आवश्यकतामाथि नै प्रश्न उठ्ने तर्क गरे । विगतमा भागबण्डाका आधारमा हुने नियुक्ति प्रक्रियालाई संकेत गर्दै उनले अहिलेको निर्णयले पुरानो राजनीतिक अभ्यास तोडेको दाबी गरे ।
न्यायपालिकाको विषयमा भइरहेको आलोचनाप्रति आक्रोशित देखिएका लामिछानेले अदालतलाई समेत जनताको न्यायसँग जोडिन आग्रह गरे । आफूविरुद्ध आलोचना गर्नेहरूलाई चुनौतीपूर्ण शैलीमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिशोधको भाषा प्रयोग नगर्न चेतावनी दिए । अदालतलाई “हाँसोको विषय” नबनाउन आग्रह गर्दै उनले न्याय कागजमा सीमित नभइ नागरिकले अनुभूति गर्ने खालको हुनुपर्ने बताए ।
सरकारको कामकारबाहीबारे उठिरहेका प्रश्नहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदहरूलाई रक्षात्मक नबन्न आग्रह गरे । उनले अध्यादेशलगायतका विषयमा आलोचना भए पनि सरकारले ती कदम जनताको हितका लागि चालेको जिकिर गरे । कतिपय अवस्थामा ढिलो प्रक्रियाले जनतालाई सेवा दिन कठिन हुने भएकाले फास्ट ट्र्याकबाट कानुन निर्माण गर्नुपरेको उनको भनाइ थियो । सरकारले देश र नागरिकलाई घाटा पुग्ने कुनै निर्णय नगर्ने र त्यस्तो निर्णय हुन पनि नदिने दाबी गर्दै उनले “ट्र्याकबाहिर रहेको देश अहिले ट्र्याकमा आउन थालेको” टिप्पणी गरे ।
लामिछानेले पार्टीभित्र गुटबन्दी भएको भन्ने चर्चालाई पनि अस्वीकार गरे । प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो सम्बन्धलाई लिएर भइरहेका चर्चाप्रति संकेत गर्दै उनले आफूहरूबीच पूर्ण समझदारी रहेको बताए । “बालेन–रवि” वा “रवि–बालेन” भनेर विभाजन खोज्ने प्रयासप्रति कटाक्ष गर्दै उनले आफूहरू व्यक्तिगत स्वार्थका लागि नभइ देशको भविष्यका लागि सहकार्य गरिरहेको बताए । उनले सांसदहरूलाई कसैको प्रभावमा परेर आफूलाई कुनै समूहसँग नजोड्न आग्रह गरे । राजनीतिक अस्थिरता र नेताहरूबीचको अविश्वासका कारण देश दशकौं पछि परेको उल्लेख गर्दै उनले अहिलेको नेतृत्व राजनीतिक रूपमा परिपक्व रहेको दाबी गरे ।
प्रशिक्षण कार्यक्रममा लामिछानेले सांसदहरूलाई भाइरल हुने प्रतिस्पर्धामा नलाग्न पनि सुझाव दिए । संसदीय समितिमा क्यामरा देख्दा लोकप्रिय बन्ने उद्देश्यले चर्को बोल्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले जनताका वास्तविक मुद्दाभन्दा प्रचारमुखी शैली हाबी हुन थालेको बताए । आफूलाई पनि राम्रो कभरेज मन पर्ने स्वीकार गर्दै उनले लोकप्रियताको मोहले जनताका मुद्दा ओझेलमा पार्न नहुने धारणा राखे । सांसदहरूलाई विधेयक, कानुन निर्माण र संसदीय अभ्यासमा केन्द्रित हुन आग्रह गर्दै उनले परिणाम दिने राजनीतिमा जोड दिए ।
त्यस्तै, लामिछानेले आफूहरू केवल पदका लागि राजनीतिमा नआएको दाबी पनि गरे । प्रधानमन्त्री, मन्त्री वा पार्टी सभापति बन्नुभन्दा देशलाई कस्तो नेतृत्व दिने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो । “हामी जीवनी लेख्ने होइन, इतिहास लेख्ने यात्रामा छौं” भन्दै उनले रास्वपाको उदयलाई वैकल्पिक राजनीतिक विद्रोहको रूपमा व्याख्या गरे । विश्व राजनीतिमा आएको परिवर्तनसँगै नेपालमा पनि नयाँ राजनीतिक अभ्यासको आवश्यकता महसुस भएको भन्दै उनले संसदीय अभ्यासलाई मर्यादित र जनमुखी बनाउने लक्ष्य रहेको बताए ।
सांसदहरूलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीभित्र योगदानको मूल्य खोज्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । मन्त्री बन्न नपाएको वा समिति सभापति नबनाइएको विषयमा असन्तुष्टि स्वाभाविक भए पनि सांसदको भूमिका त्यसभन्दा धेरै ठूलो रहेको उनले बताए । सांसदहरूले कानुन निर्माणमार्फत देशको इतिहास बदल्न सक्ने भन्दै उनले पदभन्दा कामलाई प्राथमिकता दिन आग्रह गरे । मन्त्री बन्नुलाई मात्र राजनीतिक सफलता ठान्ने मानसिकता गलत भएको टिप्पणी गर्दै उनले सांसदहरूलाई आफ्नो क्षमताको उपयोग जनताको पक्षमा गर्न आह्वान गरे ।



Facebook Comments