रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चलाइनु गलत भएको बताएका छन् । रास्वपाका सांसदहरूलाई प्रशिक्षण दिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको आदेश सबैले पालना गर्नुपर्ने बताएका हुन् ।
पत्रकारहरूले अदालतले डोजर नचलाउन आदेश दिँदादिँदै पनि हटाउने काम जारी रहेको विषयमा प्रश्न गरेपछि लामिछानेले “त्यो गलत भयो” भन्दै स्पष्ट प्रतिक्रिया दिएका थिए । सर्वोच्च अदालतले शुक्रबार सरकारलाई सुकुमवासी बस्तीमा डोजर नचलाउन अन्तरिम आदेश दिएको थियो ।
सुकुमवासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गरेको घटनाबारे संवेदनशीलता नदेखाएको आरोपबारे सोधिएको प्रश्नमा लामिछानेले कसैलाई पनि घरबारविहीन बनाउनु नहुने बताएका छन् । प्रक्रियामा अझ राम्रो ढंगले काम गर्न सकिने अवस्था रहेको स्वीकार गर्दै उनले अन्ततः सुकुमवासी समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले सरकारले सुकुमवासी समस्या समाधानका लागि नीति बनाएर त्यहीअनुसार अघि बढिरहेको दाबी पनि गरे । लामिछानेका अनुसार अन्तिम निष्कर्षमा पुग्दा कुनै नागरिकले आफूलाई अन्याय भएको महसुस गर्न नपर्ने गरी समाधान खोजिनुपर्नेछ ।




Facebook Comments